२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मुटुको सल्यक्रिया तथा उपचारमा सफल बन्दै नोबेल, सयभन्दा बढीको गरियो ‘ओपन हार्ट सर्जरी’

Author Uttari Morang
मंगलबार, मंसिर २८, २०७८
मुटुको सल्यक्रिया तथा उपचारमा सफल बन्दै नोबेल, सयभन्दा बढीको गरियो  ‘ओपन हार्ट सर्जरी’

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले करिब अढाई बर्षको अबधिमा एक सयभन्दा बढी विरामीको ‘ओपन हार्ट सर्जरी’ गरेको छ ।
२०७६ असारबाट छाती चिरेर गरिने मुटुको शल्यक्रिया अर्थात ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु गरेको नोबेलले हालसम्म १०२ जना विरामीको मुटुको शल्यक्रिया गरेको हो ।

एक सय भन्दा बढी विरामीको सफलतापूर्वक ‘ओपन हार्ट सर्जरी’ गरेपछि नोबेलको मुटु बिभागले एक कार्यक्रम नै गरेर उत्सव पनि मनाएको छ । कार्यक्रममा मुटु रोगको उपचारका क्षेत्रमा ख्याती कमाएका डा.ज्योतेन्द्र शर्मा, डा.खालिद हुसेन हक, डा.जोजुनाथ पोखरेल, डा.रोशन राउत, डा.महेन्द्र भट्ट लगायतले नोबेलले ‘ओपन हार्ट सर्जरी’ सेवा सञ्चालन गर्दा पूर्वी नेपालसहित छिमेकी मुलुकका विरामीलाई पनि उपचारमा निकै सहज भएको बताए ।
.
नोबेल अस्पतालका निर्देशक एवं मुटु बिभाग प्रमुख डा.राजेश नेपालले कोरोनाको महामारी बीच पनि नोबेलले दुई अढाई बर्षभित्र सय भन्दा बढी ‘ओपन हार्ट सर्जरी’ गर्न सफल भएको भन्दै खुशी व्यक्त गरे । उनले यो अवधिमा १ सय ६ जनाको एवुलेशन थेरापी पनि गरिएको जानकारी दिए ।

चिकित्सकहरुका अनुसार मुटुमा गंभिर समस्या भएका बिरामीहरुलाई ‘ओपन हार्ट सर्जरी’ मार्फत उपचार गरिन्छ । जन्मजात मुटुमा प्वाल परेका, मुटुको वाथ रोगले भल्व बिग्रिएका, मुटुको नसा अवरुद्ध भएका, एन्जियोप्लाष्टि गर्न नमिल्ने लगायत बिरामीलाई ओपन हार्ट सर्जरी गर्ने गरिएको नोबेलका ओपन हार्ट सर्जन डा. प्रमान शर्मा बताउँछन् ।
नेपालका केही अस्पतालमा मात्र ओपन हार्ट सर्जरी हुने गरेको छ । नोबेलले यो सेवा थालेपछि पूर्वी नेपाल र भारतको सिमा क्षेत्र आसपासका बिरामीहरु बढी लाभान्वित भएका छन् । छिमेकी मूलुक भारतका विरामीहरु पनि ‘ओपन हार्ट सर्जरी’ का लागि नोबेलमा आउने गरेको डा.नेपालले बताए ।

बि. सं. २०७२ सालबाट क्याथल्याव सञ्चालन गरी मुटु रोगको स्तरीय उपचार थालेको नोबेलले मुटुको चाल गढबढी सम्बन्धि उपचारका लागि मोफसलमै पहिलो पटक ईपी ल्याव सञ्चालन गरेको छ । मुटु रोगको गुणस्तरीय उपचारका लागि नोबेलले नेपालमै पहिलो पटक जटिल एन्जियोप्लाष्टिमा प्रयोग हुने अत्याधुनिक थ्रीडी ओसिटी मेसिन प्रयोगमा ल्याएको छ ।

सुरुदेखिनै मुटुको ईसीजी, टिएमटी, होल्टर, ईको लगायत सेवा प्रदान गर्दै आएको नोबेलले सेवा बिस्तार गर्दै एन्जियोग्राफी, एन्जियोप्लाष्टि, पेसमेकर लगायत सेवा प्रदान गर्दै आएको छ । मुटुको सामान्य उपचार र ओपन हार्ट सर्जरीदेखि मुटु रोगका सवै खाले उपचार एकै ठाउँमा हुने भएकाले मुटुसम्बन्धि रोगका सबै उपचारमा नोबेल सक्षम रहेको अस्पतालका सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।