२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी

Author Uttari Morang
शुक्रबार, पुष १६, २०७८
सरकारी अस्पताल भन्दा पनि सस्तोमा उपचार सेवा दिन खोज्दै केएमसी

सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ ।

त्यसैगरी भेन्टिलेटर, हाइकेयर, अक्सिजन लगायत सात प्रकारमा उपचार सेवामा केएमसीले दर रेट घटाएको छ ।

निजी क्षेत्रबाट सञ्चालित केएमसीले सरकारी अस्पतालको भन्दा पनि सस्तो दर रेटमा उपचार थालेको केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले बताए । सहुलियत दरमा गुणस्तरीय उपचार सेवा दिन सरकारी भन्दा पनि सस्तो दर रेटमा उपचार सेवा प्रदान गर्न थालेको र अब बिरामीहरुले सस्तो दर मै गुणस्तरीय उपचार पाउने शर्माले बताए ।

यसअघि प्रतिदिन आइसीयू चार्ज ५ हजार लिँदै आएको केएमसीले एकैपटक ३ हजार १ सय रुपैयाँ रेट घटाएर १ हजार ९ सयमै आइसीयूमा उपचार थालेको हो ।

 

केएमसीमा पहिले ४ हजार ५ सय पर्दै आएको भेन्टिलेटर सेवा अब बिरामीले दुई हजारमै पाउन थालेका छन् । हाई केयरमा पनि पाँच सय रेट घटाएर १ हजार ५ सय कायम गरिएको छ । पहिले अक्सिजन प्रयोग गर्दा प्रति घण्टा दुई सय पर्ने गरेको भएपनि अहिले त्यसलाई घटाएर २० रुपैयाँमा झारिएको केएमसीले जनाएको छ ।

केएमसीले सबै उपचार सेवा सहुलियत दरमै प्रदान गर्ने गरेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

केएमसीमा १०० बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, ३५ बेडको न्यूरो आइसीयू र १० बेडको पीआइसीयू गरी सघन उपचारका लागि १८५ बेड छन् । सघन उपचार कक्षका हिसावले जुन नेपालकै सबैभन्दा बढी हो ।