श्रष्टा सम्मान र साँस्कृतिक बिमर्शसहित बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा सम्पन्न
Uttari Morang
बेलबारी साहित्य विकास समितिको चौथो साधारणसभा तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङको प्रमुख आतिथ्य र बेलबारी साहित्य विकास समितीकी अध्यक्ष तिला लेकालीको सभापतित्वमा शनिबार साधारणसभा, सम्मान तथा साँस्कृतिक बिमर्श कार्यक्रम भएको हो ।
बेलबारी १ स्थित मदन आश्रित स्मृति भवनमा भएको कार्यक्रममा बेलबारी साहित्य पुरस्कारबाट ईरान राईलाई २५ हजार नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको छ । त्यस्तै १५ हजार नगदसहितको कला पुरस्कारबाट मेखबहादुर कार्कीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य गंगा सुवेदीलाई विशेष सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी डाक्टर जगमान गुरुङले पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।
बेलबारी घर भइ अन्यत्र रहेर साहित्य क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत प्राज्ञ तथा साहित्यकार गंगा सुवेदीलाई सम्मान पत्रद्वारा बिशेष सम्मान गरिएको बेलबारी साहित्य बिकास समितिले जनाएको छ ।
बेलबारी साहित्य बिकास समितिले पहिलो बेलबारी साहित्य पुरस्कारबाट हर्कमान तामाङ र दोस्रो बेलबारी साहित्य पुरस्कारबाट रमेश लामालाइ सम्मानित गरेको थियो । त्यसैगरी बेलबारी कला पुरस्कारबाट श्याम गौतम र शिव छान्छा सम्मानित भइसकेका अघ्यक्ष लेकालीले जानकारी दिइन् ।
पौष २४ गते अर्थात शनिबार भएको साधारणसभा, पुरस्कार हस्तान्तरण तथा विहङ्गम सांस्कृतिक विमर्श कार्यक्रममा संस्कृतिविद तथा यसमा सरोकार राख्ने व्यक्तिहरुले मौलिकताको संरक्षणमा समेत सबै व्यक्ति समुदाय लाग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा संस्कृतिविद एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर जगमान गुरुङले नेपाली राष्ट्रियता र संस्कृतिको विकासका लागि सम्पुर्ण नेपालीहरु विचको मानसिक सम्मिलन र साझा भावनाको विकास आवश्यक रहेको बताए। व्यक्ति वा समुदाय जहाँसुकैबाट आएपनि नेपालको भुमीमा टेक्नासाथ नेपालप्रतिको अपनत्व भावना प्रकट भएमा मात्रै नेपाली राष्ट्रियताको विकास हुने अवस्था निर्माणका लागि राजनितिक नेताहरुलाई प्राज्ञिक समुहले सम्झाएर बाटो देखाउनु र डोहोर्याउनु आवश्यक रहेको संस्कृतिविद गुरुङले बताए ।
कार्यक्रममा प्राध्यापक डाक्टर बद्रीविशाल पोखरेलले नेपालको खास मौलिक संस्कृति भेषभुषा हेर्न विदेशीहरु नेपालसम्म आउने गरेको तर नेपालीहरु भने विदेशीहरुको संस्कृतिमा रमाउने र नक्कल गर्ने क्रम बढ्नु चिन्ताजनक भएको बताए ।
कार्यक्रममा डाक्टर पदमप्रसाद विमलीले नेपाली मौलिकता भित्रका तर्क र भावहरुलाई आत्मसात गर्दै मौलिकताको विकास र निरन्तरतामा सबैको ध्यान जानुपर्ने बताए ।
कार्यक्रममा साहित्यकार इरान राईले नेपाली भाषाको व्यवहारिक प्रयोगमा पछिल्ला दिनहरुमा कमजोरीहरु देखिँदै गएकाले एकरुपता कायम गर्ने विषयमा प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराए। कार्यक्रममा प्राज्ञ सुभद्रा भट्टराई,गंगा सुवेदी लगायतले पनि मन्तव्य दिएका थिए ।
कार्यक्रममा किशोर कोइराला, बिन्दु दाहाल मुकदर्शक लगायतले रचना बाचन र गायक सन्जिव धिमालले धिमाल भाषाको गीत प्रस्तुत गरेका थिए ।




