२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर 

Author Uttari Morang
आइतबार, बैशाख ०४, २०७९
नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर 

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछाडिको भागबाट गर्धन हुँदै छातिसम्म फैलिएर पलाएको ‘ब्राकिएल प्लेक्सस् ट्यूमर’ अप्रेशन गरेर सफलतापूर्वक निकालिएको हो ।

नोबेलका टाउको तथा घाँटी क्यान्सरका बरिष्ठ शल्यचिकित्सक डा.ऋषिकेश ठाकुर नेतृत्वको चिकित्सकहरुको टोलीले सफलतापूर्वक ट्यूमर निकालेको हो । नोबेलको हाडजोर्नी विभागका डा.रञ्जिव झा, नाक कान घाँटी बिभागका डा.संजिव कुमार ठाकुर, छाती सम्बन्धि शल्यचिकित्सक डा.लोकेश यादव लगायत पनि शल्यक्रियामा सहभागी थिए ।

यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर नेपालमै पहिलो पटक सफलतापूर्वक निकालिएको डा.ठाकुर बताउँछन् । ‘झण्डै एक लाख मान्छे मध्ये करिब एक जनामा मात्र यस्तो ट्यूमर पाइन्छ, त्यो पनि यत्तिको ठूलो विरलै मात्र भेटिन्छ, नेपालमा हालसम्म यस्तो प्रकृतिको जटिल तथा दुर्लभ ट्यूमर सफलतापूर्वक निकालेको रेकर्ड भेटिएको छैन,’ डा.ठाकुर भन्छन्, ‘हामीले नेपालमै पहिलो पटक यस्तो जटिल ट्यूमर निकालेका हौं ।’

घाँटीको माथिल्लो भागदेखि करङसम्म काटेर झण्डै १७ सेन्टिमिटर लामो ट्यूमर सफलतापूर्वक निकालिएको हो । चिकित्सकहरुका अनुसार घाँटी हुँदै हातसम्म फैलिने नसाहरुसँगै पलाएकाले सो ट्यूमर निकाल्दा नसामा चोट लाग्ने संभावना धेरै हुन्थ्यो । जसका कारण हात नचल्ने जोखिम थियो । तर, सफलतापूर्वक ट्यूमर निकालिएपछि अहिले मालतीको हात सामान्य अवस्थामा छ ।

करिब एक बर्षअघिदेखि उनको घाँटीको पछाडिपट्टीको भागमा मासुको डल्लो पलाएको थियो । छाम्दा निकै कसिलो भेटिने डल्लो बढ्दै गएर छातीसम्म फैलिएको हो । ट्यूमर बढ्दै गएपछि मालतीलाई हात उचाल्न गाह्रो हुँने, घोच्ने र चस्किने समस्याले सतायो । पूर्वका बिभिन्न अस्पतालमा जाँदा अप्रेशन गर्न नमानेपछि अन्ततः नोबेलमा ल्याएर अप्रेशन गराइएको मालतीका श्रीमान राजकुमारले बताए । अप्रेशन सफल भएर समस्या टरेपछि विरामी र विरामीका आफन्त हर्षित छन् ।