२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का

Author Uttari Morang
बुधबार, जेठ २५, २०७९
जिल्ला समन्वय समिति मोरङमा निर्वाचनको रन्को, सुन्दरहरैचाका राईले सभापति जित्ने पक्का

 

जिल्ला समन्वय समिति मोरङको निर्वाचन जेठ ३१ गते हुने टुंगो लागेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदाता नामावली प्रकासन तथा नामावली सच्याउने वा छुट नाम समावेश र संशोधित मतदाता नामावली प्रकासन बुधबार हुनेछ ।

त्यस्तै मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकासन बिहीबार अर्थात जेठ २६ गते हुनेछ । उम्मेदवारको मनोनयन दर्ता, उम्मेदवारको सूची प्रकासन र दाबी बिरोध जेठ २७ गते शुक्रबार हुनेछ ।

उम्मेदवारविरुद्धको उजुरी उपर जाँचबुझ गरेर निर्णय लिने, उम्मेदवारको नामावली प्रकासन गर्ने, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकासन जेठ २८ गतेलाई तोकिएको छ । जेठ २९ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने र ३१ गते जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका रहेको सूचना अधिकारी बुढाथोकीले बताए ।

स्थानीय तह निर्वाचनबाट विजयी भएका जिल्लाभरका स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षले समन्वय समितिको निर्वाचनमा मतदान गर्न पाउने छन् । १७ वटा स्थानीय तह रहेको मोरङमा ३४ जना मतदाता हुने छन् ।

जिल्ला समन्वय समिति मोरङको निर्वाचनबाट एमाले विजयी बन्ने पक्का भएको छ । एमालेबाट समितिको प्रमुखमा सुन्दरहरैँचाका अजम्बर राई र उपप्रमुखमा रङ्गेलीकी उषा झालाई उठाउने निर्णय भइसकेको एमाले मोरङका सचिव रूपेश खतिवडाले जानकारी दिए ।

मोरङमा मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष गरेर नेकपा (एमाले)का २१, नेपाली काङ्ग्रेसका १२ र नेकपा (माओवादी केन्द्र) का एक जना छन् । स्थानीय निर्वाचनमा माओवादीले मिक्लाजुङको उपाध्यक्ष जितेको छ ।

समन्वय समितिमा स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ । नौ सदस्यीय समितिमा प्रमुख र उपप्रमुख, तीन जना महिला सदस्य, दलित वा अल्पसङ्ख्यकमध्ये एक जना र अन्य सदस्य तीन जना निर्वाचित हुने छन् ।