२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पाँचथरमा बन्यो नेपालकै ठूलो धातुको बुद्द मुर्ति, बजेट निकासा रोकिँदा रंगरोगन प्रभावित

Author Uttari Morang
मंगलबार, आषाढ १४, २०७९
पाँचथरमा बन्यो नेपालकै ठूलो धातुको बुद्द मुर्ति, बजेट निकासा रोकिँदा रंगरोगन प्रभावित

पाँचथरको मिक्लाजुङ गाउँ पालिका ४ मा  नेपालकै सबैभन्दा ठूलो धातुबाट निर्मित बुद्द मुर्तिको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

  पुर्वी पहाडी जिल्ला पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ स्थित रबि बजारभन्दा उत्तरपट्टी जडिबुटे सामुदायिक वन क्षेत्रको जडिबुटी डाँडामा ३८ फिट अग्लो  देशकै ठूलो धातुको बुद्धमूर्ति सहितको पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
मिक्लाजुङ गाउँपालिका र स्थानीयवासीको  परिकल्पनामा १७ टन पित्तल धातु मात्र प्रयोग गरिएको   बुद्धको मूर्ति निर्माण भइसकेको छ ।

प्रदेश १ सरकार र मिक्लाजुङ गाउँपालिकाको करिब साढे तीन करोड लागतमा चर्चित मूर्तिकार नवीन सुवेदीको नेतृत्वमा एक वर्षदेखि कठिन चुनौती झेल्दै कलाकारहरूले देशकै ठूलो पित्तल धातुको बुद्धमूर्ति निर्माण गरिरहेका छन् । मुर्तिकार सुवेदीका अनुसार उक्त मूर्ति निर्माण गर्न उनकै नेतृत्वमा मुर्तिकार तथा कामदार गरी १४ जना निरन्तर एक वर्षदेखि खटिँदै आएका छन् ।

बिजुली आपूर्ति नभए पनि पित्तल धातुमा ‘ग्यास वाइल्डिङ’ गरेर बनाइएको बुद्ध ध्यानमा बसेको देशकै अग्लो धातुको मूर्ति निर्माणकार्य सकिएको र रंगरोगनको केही काम मात्र बाँकी रहेपनि बजेट निकासा नहुँदा काम प्रभावित भएको निर्माणका ठेकेदार तथा मुर्तिकार नवीन सुवेदीले जानकारी दिए ।

मिक्लाजुङस्थित जडिबुटे वन क्षेत्रको करिब पाँच कट्ठा जमिनमा नवीन स्कप्चर्स प्रा. लि. मार्फत निर्माण भएको देशकै अग्लो र ठूलो पित्तल धातुको बुद्धमूर्तिसहितको पार्क पालिकाको मात्र नभएर देशकै गहना हुने मुर्तिकार सुवेदीले बताए ।

शुरुमा ३५ फुट अग्लो बनाउने सम्झौता भएपनि गाउँ पालिकासँगको मौखिक समझदारी मा ३८ फुट अग्लो मुर्ति बनाइएको नवीन स्ट्रक्चर्स प्रा.लि. का संचालक मुर्तिकार नवीन सुवेदी बताउँछन् ।

२०७६ सालमा एक बर्षभित्र निर्माण सक्ने सम्झौता भएपनि लकडाउन, मुल्यबृद्दि र दक्ष कामदार अभाव र प्रक्रिया गत ढिलाइ एवम्  बजेट निकासामा ढिलाइ लगायतका कारण  २/३ पटक म्याद थप्नुपरेको थियो । खासगरी रंगरोगनको काम मात्र बाँकी रहेको र एक महिनामा मुर्ति निर्माणको काम सकिने अबस्था भएपनि गाउँपालिकाले बजेट रोकिदिँदा मुर्ति निर्माणको काम अलपत्र हुने अबस्था सृजना भएको मुर्तिकार सुवेदी बताउँछन् । फेसबुकमा स्टाटस शेयर गर्दै उनले गाउँपालिकाको रवैयाप्रती असन्तुष्टि जनाएका छन् ।

सानै उमेरदेखि मुर्तिकलामा रुचि भएका नवीनले स्कुल पढ्ने क्रममा २०५१ सालदेखि ढुंगा कुँदेर मुर्ति बनाउन थालेका थिए । ललितकला क्याम्पसबाट मूर्तिकलामै डिग्री सकेका मोरङ लेटाङ निबासी नवीनले हालसम्म ढुंगा, फाइबर र धातुका गरी हजार भन्दा बढी मुर्ति बनाइसकेका छन् । उनले केही बर्षअघि काठमाडौंमा आफुले बनाएका मानव आकृतिका मुर्तिहरुको प्रदर्शनी समेत गरेका थिए ।
नवीनले बनाएका मुर्तिहरु गोर्खा, सिन्धुली, काठमाडौ लगायत नेपालका विभिन्न सार्वजनिक स्थल तथा मठ मन्दिरहरुमा राखिएका छन् । आफ्नै लगानी तथा मिहिनेतले हजारौं मुर्ति बनाइसके पनि उनी राज्यको नजरमा भने पर्न सकेका छैनन् । – अम्बिका भण्डारी