२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारी नगर अस्पतालमा १२ घण्टे ओपिडीसँगै स्वास्थ्य बिमा सेवा पनि, बिरामीलाई राहत

Author Uttari Morang
आइतबार, साउन २९, २०७९
बेलबारी नगर अस्पतालमा १२ घण्टे ओपिडीसँगै स्वास्थ्य बिमा सेवा पनि, बिरामीलाई राहत

मोरङको बेलबारी १ मा अबस्थित स्वास्थ्य चौकीलाइ बेलबारी नगर अस्पतालमा बनाइ १२ घण्टा ओपिडी सेवा शुभारम्भ गरिएपछि बिरामीले राहत महसुस गर्न थालेका छन् ।

साउन १ गतेदेखि दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ओपिडी सेवा सञ्चालन तथा हाल एक्सरे, भिडियो एक्सरे, प्रसुति रोग बिशेषज्ञ सेवा तथा बिमाको रेफर समेत हुन थालेपछि बिरामीको संख्या बढ्न थालेको हो ।
नगर अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. उमेश शाहका अनुसार हाल दैनिक एक सय जना भन्दा बढी मानिसहरू ओपीडी सेवा लिन आउने गरेका छन् ।

स्वास्थ चौकीको स्तरोन्नतिका लागि आ. ब. २०७७/०७८ मा नगरपालिकाबाट  २५ लाख बजेट बिनियोजन भएपछि  उपभोक्ता समिति मार्फत १५ वटा बेड राख्ने हल, ल्याब आदिका लागि पुरानो उप स्वास्थ्य चौकीको उत्तरपट्टी २ वटा भवन र प्रतिक्षालय निर्माण तथा ब्लक निर्माण र रिटर्निङ बाल समेतको काम शुरु भएको थियो । आ.ब. २०७८/०७९ मा १८ लाख थप भएपछि स्वास्थ चौकीको स्तरोन्नति तथा अस्पतालको पुर्वाधार निर्माणको काम सम्पन्न भएको थियो ।
नगर अस्पतालमा एकजना मेडिकल अफिसर, पारामेडिक्स, रेडियो ग्राफर  नर्स, ल्याब टेक्निसियन सहित १३ जना स्वास्थ्य कर्मचारी छन् ।
अस्पताल निर्माणका लागि बेलबारीका राजेन्द्र बहादुर केसीले ३ कट्ठा जग्गा प्रदान गरेका थिए ।  नव निर्मित भवन निर्माण भएसँगै केहि महिनाअघि देखि साविक उप स्वास्थ्य चौकीलाई  बेलबारी नगर अस्पताल बनाइएको छ ।

नगर अस्पतालमा  एक्सरे, भिडियो एक्सरे, प्रसुति रोग बिशेषज्ञ सेवा तथा बिमाको रेफर समेत शुरु भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिकले बताए ।
स्वास्थ्य बिमाको रेफर गर्ने काम पनि नगर अस्पतालबाट नै हुन थालेको छ । नगर अस्पतालका अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रमुख डीपी राईले बेलबारीबासीलाइ  गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय अस्पताल पुग्नुपर्ने बाध्यता अब नरहेको बताए । आफू नगर प्रमुख भएपछि स्वास्थ्य लाई पहिलो प्राााथमिकता दिएको र  निकट भविष्यमै आँखा परीक्षणको सेवा विस्तार गर्ने र सेवा विस्तारसँगै जनशक्ति र विशेषज्ञ सेवा पनि थप गर्ने योजना रहेको नगर प्रमुख राइले बताए । मुटु, कलेजो र मृगौलाको समस्या र  क्यान्सर जस्ता जटिल रोग भएका बिरामीको उपचारका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउने उनले बताए ।
बेलबारी नगरपालिकाका मेयर तथा अस्पतालका अध्यक्ष राईले साउन १ गते उद्घाटन गरेको १२ घण्टे सेवाको पहिलो दिन बेलबारी नगरपालिकाको दाँत उपहार कार्यक्रम अन्तरगत पूर्वाञ्चल डेण्टल हस्पिटल प्रा.लि.सँगको साझेदारीमा ५३ जना स्थानीयलाई  निःशुल्क दाँत लगाइएको थियो ।