२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी

Author Uttari Morang
शुक्रबार, भाद्र ०३, २०७९
ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै महिलाहरुले छिमेकी विरुद्ध दिए उजुरी

गोदावरी नगरपालिका वडा नं. ३ टौखेलका पाँचजना महिलाहरुले स्थानीय राजबहादुर साह विरुद्ध ध्वनी प्रदुषण गराएर रातभरी सुत्न नदिएको भन्दै न्यायिक समितिमा उजुरी दर्ता गराएका छन् ।

साहले घरभित्रै  बर्कसप सञ्चालन गरेर गाडी मरमतका कामहरु समेत गर्दा आउने ध्वनी प्रदुषणलाई रोक्न छिमेकीहरुले वडा कार्यालय र स्थानीय प्रहरीलाई बारम्बार उजुरी गर्दा समेत सुनवाई नभएपछि  न्यायिक समितिमा उजुरी दिनु परेको गोदावरी नगरपालिका ३ की पवित्रा आचार्यले बताइन् ।

महिलाहरुले सामुहिक रुपमा दिएको उजुरीमा साहमाथी चारवटा आरोप लगाइएको छ । उजुरी कर्ता महिलाहरुका अनुसार  साहले नेपाल सरकारको सवारी मापदण्ड विपरित धेरै पुराना गाडीहरु घर कम्पाउण्ड भित्र ल्याएर छिमेकीलाई साउण्ड पोलुसन हुनेगरी गाडीको वर्कसप सञ्चालन गरिरहेका छन् । बस्तीभित्र वर्कसप संचालन गर्दा छिमेकीहरुको सहमति लिनु पर्नेमा त्यो केही गरिएको छैन ।  पाँच बर्षदेखि उक्त काम गरिरहेको भएपनि स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायहरुमा पटक पटक जानकारी गर्दा समेत कुनै सुनवाई नभएको बताए ।

गएको माघ १३ गते स्थानीय समुदायले नजिकको प्रहरी चौकी र वडा कार्यालयमा ध्वनी प्रदुषण भएको भनेर उजुरी गरेका थिए । लगतै माघ २० गते जिल्ला प्रहरी कार्यालय ललितपुरलाई शान्ति सुरक्षा सम्बन्धी निवेदन साहका छिमेकी पवित्रा भण्डारी आचार्यले दिएकी थिइन् । जिल्ला प्रहरीले प्रहरी प्रभाग बाँडेगाउँलाई कारवाहीका लागि पत्राचार गरेको भएपनि  लामो समयसम्म साहलाई कुनै कारवाही गरेको पाइदैन । साह उद्यमी भएकाले उनको पहुँचले कारवाही गर्न जनप्रतिनिधिहरु पनि हिच्किचाइ दिनाले सर्वधाराणले दुःख पाएको देखिन्छ ।
उजुरी कर्ता आचार्यका अनुसार पटक पटक तागेता गर्दा प्रहरीले एक पटक उनको घरमा आएर साउण्ड डिटेक्टर लगाएर एसीको आबाज परीक्षण गरेको थियो । सो परीक्षण पछि राजबहादुर साहको घरमा बस्नेहरुलाई प्रहरीले बोलाएर अत्याधिक आबाज दिने एसी नचलाउन वा छिमेकीलाई ध्वनी प्रदुषण नहुने व्यवस्था मिलाउन आदेश दिएपनि साहले अटेर गर्दै आएका छन् ।
दिनभरी काम गरेर राती सुत्नेबेलामा निन्द्रा खल्बलिने गरी साहका घरमा  पालिएका पाँच कुकुरहरु मध्ये दुईवटा ‘टिबेटियन मासटीफ’ जातका छन् । ती कुकुरहरु एकहोरो भुकिरहने बानी भएकोले छिमेकीहरु रातभर सुत्न पाएका छैनन् । उनीहरुका अनुसार उक्त जातको कुकुरलाई चीन र अमेरिकाको केही प्रान्तमा पाल्न बन्देज लगाइएको छ । तर नेपालमा टोलै थर्काएर रातभर भुकिरहने कुकुरबाट छिमेकीलाई परेको असरबारे कसैले सुनवाई नगरेको महिलाहरुको दुःखेसो छ ।
लामो समयदेखि न्यायका लागि विभिन्न सरोकारवालाहरुलाई गुहारी रहेका टौखेलका महिलाहरुले गोदावरी नगरपालिका वडा नं. ३ मा फागुन ३० गते दर्ता नं. १९५२ मा दर्ता गरेका छन् । तर त्यसले पनि कुनै निकास नदिएकोले अन्तिममा न्यायिक समितिमा उजुरी हालिएको पिडित महिलाहरुले बताएका छन् ।
साहले बनाएको घर तथा आवास सम्बन्धी मापण्ड विपरित कम्पाउण्डबाट बाहिरतर्फ खुल्ने गेट राखेको र मुलुकी अपराध संहिता २०७४ को दफा १४८को ख १४९ र १५० विपरित सार्वजनिक रुपमा भोगचलन गर्दै आएको तथा छिमेकीहरुको सहमति बिना मनोमानी ढंगबाट सडकलाई क्षति पु¥याएको आरोप उक्त निवेदनमा लगाइएको छ ।
उजुरी निवेदनमा बातावरण संरक्षण ऐन २०५३ विपरित साहले हालसम्म कुनैपनि निकायबाट स्वीकृति नलिई मानव शरिरको लागि घातकहुने ग्रीस, मेटल , डस्ट, पेट्रोल डिजेलका टक्सी, धुँवा लगायत अन्य हानीकारक रसायन उत्सर्जन गरी प्राकृतिक वातावरण प्रदुषित हुनेगरी, यान्त्रिक ध्वनी प्रदुषण हुनेगरी लामो समयदेखि वर्कसप सञ्चालन गर्दै आएको भनिएको छ ।
साथै वर्कसप सञ्चालन गर्न चारकिल्लाको सहमति लिनुपर्नेमा सो केही नलिई सञ्चालन गरेकाले कारवाही गरिपाउँ भनी न्यायिक समितिमा उजुरी दिएका हुन । घरमा धेरै समय महिला नै बस्नु पर्ने भएकोले ध्वनी प्रदुषणले गर्दा विद्यार्थीहरुले पढ्न नपाएका तथा महिलाहरु बढी पिडित भएका निवेनकर्ताहरुले बताएका छन् ।
उजुरी गर्ने महिलाहरु गोदावरी नगरपालिका वडा नं. ३, टौखेलका पवित्रा भण्डारी आचार्य, मन्दिरा कुँबर, बिना कुँवर, रबिना तामाङ् तण्डुकार र कोपिला कुँबर छन् ।