२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना

Author Uttari Morang
मंगलबार, भाद्र १४, २०७९
जरिवाना तिर्न नसक्दा फलामेटारका दिनेश सउदीको जेलमा, परिवारद्वारा सहयोगको याचना

साउदी अरबमा सवारी ज्यान मुद्दामा जरिवाना तिर्न नसकी जेलमा रहेका धनकुटाको चौविसे गाउँपालिका ४ फलामेटारका २९ वर्षीय दिनेश कार्कीलाई स्वदेश फर्कने वातावरण बनाइदिन परिवारजनले आग्रह गरेका छन् ।

दिनेश

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका २९ वर्षीय दिनेश सवारी ज्यान मुद्दा आरोपमा एक बर्षभन्दा अघिदेखि जेलमा छन्। दिनेशका परिवारले साउदी अरबको जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन आग्रह गरेका छन् ।

दिनेशको परिवारका अनुसार उनलाई सउदी सरकारले ५७ हजार रियाल क्षतिपूर्ति वापतको जरिवाना तोकेको छ सो जरिवाना नेपालको १८ लाख रुपैयाँ बराबर हो । सो रकम त्यो तिर्न नसक्दा विगत १३ महिना देखि जेलमा छन्।

आर्थिक अवस्था कमजोर भएका र कमाउन विदेश गएको छोरा पनि जेलमा परेपछि दिनेशका बाबु गणेशबहादुर र आमा दुर्गाकुमारी सहयोगको याचना गर्दै तड्पिएर बसिरहेका छन् ।

चौविसे गाउँपालिका-४ फलामेटारस्थित तमोर किनारमा घर भएका बुबा गणेशबहादुर शारिरिक रुपमा असक्त छन् । १५ वर्ष अघि लडेको कारण उनी राम्ररी हिँडडुल गर्न सक्दैनन्। छोरा जेलमा परेको खवर सुनेदेखि भोक निन्द्रा हराएको दिनेशकी आमा दुर्गाकुमारी कार्कीले भनिन् “हामीले त्यति धेरै पैसा कसरी जुटाउनु ?’

एक वर्ष भन्दा बढी छोरासँग सम्पर्क नभएको र छिमेकी महेन्द्र न्यौपानेले फोनमा कुरा गर्दा मात्रै छोरा जेलमा रहेको थाहा पाएको दुर्गाकुमारीले बताइन् । उनले भनिन् -“विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सरकारले गरेको छ भन्ने सुनेको थिए। हाम्रो छोराको पनि उद्धारमा सरकारले सहयोग गरिदिन्छ भन्ने आशमा छौं।’

वैदेशिक रोजगारीको सिलसिलामा दिनेश साउदीको अल हवाला फर ट्रेनिङ एण्ड इन्डस्ट्री कम्पनीमा ट्रेलर चालकको रुपमा काम गर्न ५ वर्ष अघि पुगेका थिए। तर कम्पनीले श्रम सम्झौता अनुसारको सेवा सुविधा नदिएपछि दिनेश अवैध रुपमा काम गर्न थाले । बाहिर काम गर्ने सिलसिलामा सवारी साधन दुर्घटना भएपछि त्यहाँका सुरक्षाकर्मीबाट उनी पक्राउ परेका थिए ।

‘दुतावाससँग सहयोग लागि अनुरोध गरेपनि सरकारले मात्रै सहयोग गर्न नसक्ने भन्दै सामाजिक संघ संस्था र परिवार गुहारी सहयोग जुटाएर आफै निस्कनुपर्ने जवाफ दिएको दिनेशले बताएका छन् । यस्तो केशमा धेरै जना फस्छन् सबैलाई सहयोग गरेर साध्य छैन भनेर राजदूतावासले गैर जिम्मेवार जवाफ दिएको दिनेशको दुखेसो छ ।

पहिले ठूलो जेलमा हुँदा कसैसँग सम्पर्क गर्न नपाएका दिनेश सानो जेलमा स्थानान्तरण गरिएपछि परिवारको सम्पर्कमा रहेकोे छिमेकी महेन्द्र न्यौपानेले बताए ।