२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

सिंहदेवी सामुदायिक वनको चुनावबाट सर्वपक्षीय समिति, अध्यक्षमा चुनिए भिम

Author Uttari Morang
आइतबार, आश्विन ०२, २०७९
सिंहदेवी सामुदायिक वनको चुनावबाट सर्वपक्षीय समिति, अध्यक्षमा चुनिए भिम

सिंहदेवी सामुदायिक वन उपभोक्ता समूह केराबारी ९ देवीझोडा, मोरङको १७ औं साधारणसभाले भीमबहादुर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

असोज १ गते अर्थात शनिबार भएको   साधारणसभाले नयाँ समिति बनेको हो । कांग्रेस माओवादीसहितको गठबन्धन पक्षधर र एमाले पक्षधरको प्रतिस्पर्धाबाट निर्वाचित समितिमा एमाले पक्षको बाहुल्यता छ । जम्मा ३ सय ८५ मतदाता रहेको वनको निर्वाचनमा ३ सय ५६ मत खसेको थियो । जसमा १० मत बदर भएको थियो भने ३ सय ४६ मत सदर भएको थियो ।

समितिमा अध्यक्षका लागि भीमबहादुर कार्की र नरबहादुर मगरबिच चुनावी प्रतिस्पर्धा भएकोमा कार्की २ सय १४ मत ल्याएर बिजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा दिपा बास्तोला, सचिवमा ज्ञानु बास्कोटा, सह सचिवमा दिल केसी र कोषाध्यक्षमा मनिषा सुवेदी बिजयी भएका छन् । उपाध्यक्ष र सचिव एमाले पक्षबाट उम्मेदवार भए पनि सचिव बास्कोटा कांग्रेस समर्थक हुन् । सहसचिव र कोषाध्यक्ष भने गठबन्धनबाट उम्मेदवार भएका थिए ।

उपाध्यक्षका लागि दिपा वास्तोला र मञ्जु लामिछाने, सचिवका लागि योगेन्द्रप्रसाद चौलागाई र गोविन्दप्रसाद (ज्ञानु) बास्कोटा, सह सचिवका लागि दिलबहादुर कार्की र अजित कुवर तथा कोषाध्यक्षका लागि कृष्णा (सीता) बराल) र मनिषा सुवेदीले  प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी महिला सदस्यहरुमा भावना तिम्सिना वास्तोला, सजिना (गीता) वास्तोला, फुलकुमारी पण्डित राई, पवित्रा बास्तोला चौलागाई र देऊकुमारी खड्का बिजयी भएका छन् । उनीहरू मध्ये तीन एमाले र एक गठबन्धन पक्षधर हुन् ।

त्यस्तै खुला सदस्यका लागि जगदिश शर्मा, धिरेन्द्रबहादुर कार्की र देवकुमार लिम्बु बिजयी भएका छन् । दलित महिला सदस्यमा कमला सिवा र दलित सदस्यमा सार्के रसाइली निर्विरोध निर्वाचित भएका थिए ।

लेखा संयोजकका लागि विनोदप्रसाद सुवेदी र चिरञ्जीवी खड्काबिच चुनावी प्रतिस्पर्धा भएकोमा सुवेदी बिजयी भएका छन् । लेखा समितिका दुई सदस्यमा भरतराज कार्की र टेकबहादुर (राजेन्द्र) दास बिजयी भएका छन् । लेखा सदस्य कार्की गठबन्धन पक्षधर र अरु एमाले पक्षधर हुन् ।
चुनावअघि शनिबार नै उम्मेदवार र निर्वाचन समितिको बैठक बसी मतदाता स्वयंले मतदान गर्न नसक्ने भएमा इच्छाइएको ब्यक्ति सहयोगी लान पाउने निर्णय गरिएको थियो । हकवाला हुँदाहुँदै पनि मतदानस्थलसम्म ल्याएर वा प्रभावमा पारेर दल निकट ब्यक्तिहरुले सहयोगी बन्दै भोट हालिदिने गरेपछि सामान्य विवाद समेत भएको थियो । तर त्यो प्रवृत्ति दिनभर रोकिएन । उम्मेदवारी दर्ताको दिन निकै विवाद भएको कारण मतदान शुरु नहुँदै प्रहरी बोलाइएको थियो । तापनि चुनाव र मतगणनाका क्रममा खासै ठूलो विवाद भएन ।
त्यसो त केराबारी ९ कै देवीझोडा सामुदायिक वनमा पनि गत हप्ता त्यस्तै रोचक चुनावी प्रतिस्पर्धा भएको थियो । नेतृत्वमा लागि माओवादी पक्षधर दुई उम्मेदवार मध्ये गोबिन्द बस्नेत बिजयी बनेका थिए ।
उपभोक्ताहरु चुनावमा ब्यस्त, सिमित  मान्छे मात्रै साधारणसभामा अभ्यस्त

शनिबार सामुदायिक वनको भवन बाहिर चुनावी माहोल थियो । अधिकांश उपभोक्ताहरु चुनावमै ब्यस्त थिए । तर हलभित्र भने प्रतिवेदनहरु पेस गर्ने र पारित गर्ने प्रक्रियासहित साधारणसभाको औपचारिक कार्यक्रम चलिरहेको थियो ।

हलभित्र सिमित मानिसहरू उपस्थित भएपनि न बाहिर माइकिङ गरेर उपभोक्ताहरुलाइ बोलाइएको  थियो, न त हल बाहिर भएका उपभोक्ताहरुलाइ प्रतिवेदन नै बाँडिएको थियो । साधारणसभाको माइन्युट नलेखी खाली कागजमा सही गराएर २ सय रुपैयाँ थमाइएको भरमा साधारणसभालाइ बैध्यता दिने काम भएको थियो । साधारणसभालाइ कर्मकाण्डी बनाइएको र भत्ता पनि कम दिइएको भन्दै केही उपभोक्ताले बिरोध पनि गरेका थिए ।

सामुदायिक वनका निवर्तमान अध्यक्ष लालबहादुर कार्कीले सामुदायिक वन घाटामा रहेकोे र साधारणसभाको खर्च घटाउन साधारणसभा र चुनाव एकैसाथ गरिएको दाबी गरे । उनले निर्वाचन आयोगले पनि एकैसाथ चुनाव र साधारणसभाको कार्यक्रम गर्न सुझाव दिएकोले त्यसो गरिएको जिकिर गरे ।