बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुग्यो आयोजक डाँगीहाट
Uttari Morang
पाँचौं बुद्ध एयर बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनल खेलमा आयोजक डाँगीहाट युथ क्लब बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको छ ।
बिहीबारको खेलमा पाहुना टोली झापाको रोलिङ एफ सी धुलाबारीलाइ टाइब्रेकरमार्फत ३–१ गोल अन्तरले पन्छाउँदै आयोजक डाँगीहाट प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको छिनोफानो टाइब्रेकरमार्फत हुँदा आयोजक डाँगीहाटले नतिजा आफ्नो पक्षमा पार्यो ।
टाइब्रेकरमा आयोजकका साइमन लिम्बू, काशिम राई र अभिषेक लिम्बूले गोल गरे । निरज कार्कीको प्रहार खेर गयो । झापाका तर्फबाट आशिष चापागाईंले मात्रै गोल गरे । एन्जल गुरुङ र प्रशान्त लक्समको प्रहार बाहिरियो भने लोकेन्द्र लिम्बूको प्रहार डाँगीहाटका गोलरक्षक किशोर गिरीले रोकिदिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमले बारम्बार गोल गर्ने अवसर पाए पनि अवसरलाई सदुपयोग गर्न सकेनन् ।
झापाका रजिन सुब्बाको १४ औँ मिनेटको प्रहार र ४२ औँ मिनेटमा आशिष चापागाईंले प्रहार गरेको ‘फ्रि’ गोल डाँगीहाटका गोलरक्षक किशोर गिरीले रोकिदिए ।
आयोजक डाँगीहाटका सुशील राई र अभिषेक गुरुको प्रहारलाई झापाका गोलरक्षक मनोज प्रधानले विफल पारिदिए । खेलको म्यान अफ दी म्याच आयोजकका गोलरक्षक किशोर गिरी भए । उनले ५ हजार नगद पुरस्कार पाए । शुक्रबारको दोस्रो सेमिफाइनल खेल सहलेस युथ क्लब सिरहा र एभिनीयर फुटबल क्लब क्यामरुन बीच हुने आयोजकले जनाएका छन् ।
प्रतियोगितामा पेम्बा युवा क्लब विराटनगर, रोलिङ एफ सी धुलाबारी, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौं, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएम एफ सी वेष्ट बंगाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब तथा आयोजक डाँगीहाट युथ क्लब लक्ष्मीमार्गसहित १० टीम सहभागी छन् । जसमध्ये पेम्बा युवा क्लब र भारतको एमएम एफ सी वेष्ट बंगाल प्रि- क्वाटरफाइनलबाट नै बाहिरिएका छन् भने रोलिङ एफ सी धुलाबारी आयोजकबाट पराजित हुँदै पहिलो क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बुद्ध एयरले प्रायोजन र टुबोर्गले सह प्रायोजन गरेको प्रतियोगिताका विजेता टिमले ८ लाख १ हजार र उपविजेताले ट्राफी र मेडलसहित ४ लाख १ हजार नगद पुरस्कार पाउने छन् । यसअघि गोल्डकपका विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पुरस्कार पाउँदै थिए ।




