२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा

Author Uttari Morang
मंगलबार, मंसिर २०, २०७९
३ सय शैयाको अस्पतालसहित गोठगाउँमा मेडिकल कलेज सुचारु गर्न खोज्दै सुनिल शर्मा

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा गोठगाउँस्थित पुर्वाञ्चल विश्वविद्यालयमा आगामी माघ १ गतेदेखि पूर्ण क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ ।

विश्वविद्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद शर्मासहित विश्वविद्यालयका पदाधिकारीले पुर्ण मेडिकल कलेज संचालनका लागि आवश्यक पुर्वाधार सहितको अस्पताल सुचारु गर्न लागिएको जानकारी गराएका हुन् ।

कार्यक्रममा सांसद शर्माले जुनसुकै हालतमा माघ १ गतेबाट अस्पताल सञ्चालन गर्ने गरी तयारीमा जुट्न विश्वविद्यालयका पदाधिकारीहरुलाई निर्देशन दिए । ‘माघ १ गतेबाट अस्पताल सञ्चालन गर्नुपर्छ, यसमा कुनै इन्तु किन्तु परन्तु केही चल्दैन,’ सांसद शर्माले भने, ‘अस्पताल चलाउने जिम्मा हाम्रो पनि हो, मेरो तर्फबाट सबै सहयोग गर्छु, कुनैपनि हालतमा अस्पताल चलाउँनैपर्छ ।’

सांसद शर्माले अस्पताल सञ्चालनका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
नोबेल अस्पतालका सञ्चालकसमेत रहेका सांसद शर्माले अन्य उपाय नलागेमा एक बर्षका लागि चिकित्सकको व्यवस्था आफैले मिलाइदिने घोषणासमेत गरेका छन् । आसपास क्षेत्रका सर्वसाधरणको सहजताका लागि अस्पताल सञ्चालन गर्नु अपरिहार्य रहेकोमा जोड दिदैं डा. शर्माले यो बिषयमा राजनीति नगर्न सबैलाई आग्रह पनि गरे ।

शर्माले आफ्नो चुनाबी प्रतिवद्धता पत्रमै विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । मेडिकल कलेजका लागि कम्तिमा तीन सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएकाले त्यसैका लागि डा.शर्मा आक्रामक रुपमा लागेका हुन् । अस्पताल सञ्चालनपछि मेडिकल कलेज सञ्चालनको तयारीमा जुट्ने डा. शर्माको तयारी छ ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले अब ३ सय शैयाको अस्पताल सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गरे । अस्पताल र मेडिकल कलेज सञ्चालनका अनुभवी डा. शर्मा नै सांसदमा निर्वाचित भएकाले अस्पताल सञ्चालनमा सहजता मिलेको उनको भनाई छ ।

चुनाव जितेलगत्तै एक्सनमा उत्रिएका डा.शर्माले मतदातासँग गरेको बाचा अनुरुप मोरङ क्षेत्र नम्बर ३ का जनताको लागि नोबेल अस्पतालमा ५० शैयाको निःशुल्क क्याविन सेवा पनि सञ्चालन गराइसकेका छन् ।