२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

हिलेपछि धनकुटा बजारमा पनि विद्युतको नाङ्गो तार हटाइँदै

Author Uttari Morang
मंगलबार, बैशाख ०५, २०८०
हिलेपछि धनकुटा बजारमा पनि विद्युतको नाङ्गो तार हटाइँदै

धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो ।

पहिलो चरणमा मदनचोकदेखि परिचयमोडसम्मको तार फेर्ने काम भएको विद्युत प्राधिकरण धनकुटाका प्रमुख प्रलाद पोखरेलले जानकारी दिए । उनका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएको हुन्छ र बाहिरी कभर हुनाले छुँदा करेन्ट लाग्दैन । तर, तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको अवस्थामा करेन्ट लाग्न सक्ने भएकाले जथाभावी नछुन उनको सुझाव छ ।

धनकुटा नगरपालिकाको कार्यालय, ७ नं. वडा कार्यालय र विद्युत प्राधिकरणको समन्वयमा हुलाकटोल क्षेत्रमा तार फेर्ने काम भएको छ । सडक क्षेत्रमा नगर प्रहरी खटाएर विद्युत प्राधिकरणका कर्मचारीले तार फेर्ने काम गरेका छन् ।

अब, विद्युत प्राधिकरणसँगको समन्वयमा क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तारहरु हटाइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ बताउँछन् । ‘नाङ्गो तारमा करेन्ट लाग्ने जोखिम हुन्छ, बजार क्षेत्रमा हेर्दा पनि धेरैवटा तार गज्याङगुजुङ नराम्रो देखिने हुनाले एउटै लठ्ठा भएको एबीसी तार लगाउन थालिएको हो,’ नगर प्रमुख तामाङ भन्छन्, ‘पहिलो चरणमा हुलाकटोल क्षेत्रमा तार फेरिँदैछ, अब विद्युत प्राधिकरणसँग समन्वय गरेर क्रमिक रुपमा बजार क्षेत्रका सबै नाङ्गो तार हटाउँछौं ।’

सुरक्षित र हेर्दा पनि राम्रो देखिने हुनाले बजार क्षेत्रमा एबीसी केवल नै उपयुक्त देखिएको धनकुटा नगरपालिका–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ बताउँछन् । यसअघि हिले बजार क्षेत्रमा पनि नाङ्गो तार हटाएर एबीसी केवल लगाइएको छ ।