२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग

Author Uttari Morang
मंगलबार, आषाढ ०५, २०८०
सन्यासी बने सांसद सुनिल शर्मा, ओशो आश्रमलाई ५० लाख सहयोग

रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् ।

बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका छन् । ओशो परिवारमा सन्यासी भएर माला ग्रहण गरेपछि नयाँ नाम दिने चलन छ । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रममा दिइएको नामबाटै सन्यासीलाई बोलाउने चलन छ । सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ ।

सन्यासी बन्ने क्रममा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइसहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । सन्यासी बन्ने क्रममा मोबाइलसमेत बन्द गरी बाहिरी सन्सार भुलेर नौ दिन ध्यान शिविरमा बसेको सांसद शर्मा बताउँछन् । अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट भारी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।

सामाजिक सेवा र व्यवसायसँगै राजनीतिमा पनि सक्रिय सांसद शर्माले अब सन्यासी जीवन विताउँन लागेका हुन् । ओशो सन्यासीहरूले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने भएपनि दैनिक ध्यान गर्नुपर्ने नियम छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत, एनआरएनएका पूर्वअध्यक्ष भवन भट्ट लगायत पनि ओशो सन्यासी बनिसकेका छन् ।

सांसद सुनिल शर्माद्वारा ओशो आश्रमलाई ५० लाख सहयोग

काठमाडौं, ३ असार । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले काठमाडौंको रानीबारीस्थित ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका हुन् ।

सांसद शर्मा सोही आश्रममा नौं दिन लामो ध्यान गरेर ओशो सन्यासी बनेका छन् । सोही क्रममा उनले आश्रमलाई सहयोग प्रदान गरेका हुन् । सामाजिक काममा सक्रिय डा.शर्माले यसअघि पनि बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

शर्मा तलब भत्ता नलिने देशभरका एकमात्र सांसद पनि हुन् । उनले गरिब, विपन्न तथा असहाय हजारौं विरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् ।