२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च

Author Uttari Morang
बुधबार, साउन ०३, २०८०
कोशी प्रदेश सरकारले गर्यो आम्दानी भन्दा बढी खर्च

कोशी प्रदेश सरकारले गत आर्थिक बर्षको अबधिमा आम्दानी भन्दा २ अर्ब ९३ करोड ४ लाख ५१ हजार रुपैयाँ बढी खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको आम्दानी विवरण अनुसार प्रदेशले ३ अर्ब ८७ करोड ९६ लाख ४१ हजार ९ सय ३० रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।

प्रदेशको आम्दानीमा पनि बेरुजु, निकासा फिर्ता र अनुदान फिर्ताको रकम जोडिएको छ । फिर्ताको रकम नजोड्ने हो भने प्रदेशको कूल राजश्व आम्दानी ३ अर्ब ३९ करोड ५६ लाख ७८ लाख १३८ रुपैयाँ मात्रै छ ।  प्रदेश सरकारले आन्तरिक राजश्व ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । जुन लक्ष्यभन्दा १ अर्ब १८ करोड २१ लाख रुपैयाँ कम छ ।

लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारको सञ्चित कोषमा दाखिला भएको जम्मा रकम २८ अर्ब ९५ लाख ४८ हजार ७८९ रुपैयाँ रहेको छ । प्रदेश सरकारले गरेको खर्चको विवरण अन्तिम सार्वजनिक भइनसके पनि ३० अर्ब ८० करोड आसपास कायम हुने लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।

आम्दानीको हिसावले प्रदेशले शतप्रतिशत भन्दा बढी खर्च गरेको छ । गत वर्षको मौज्दात ३ अर्ब ५१ करोड रुपैयाँ नभएको भए बजेट घाटामा जाने थियो । गत आर्थिक वर्षमा सरकारको बजेट ३९ अर्ब ७३ करोड ८३ लाख रहेको थियो । उक्त बजेटबाट संघीय सरकारलाई सशर्त अनुदानतर्फ २ अर्ब १६ करोड फिर्ता गएकोले अन्तिम बजेट ३७ अर्ब ६९ करोड १८ लाख कायम भएको थियो ।

प्रदेश सरकारले चालूतर्फ १६ अर्ब २८ करोड ४३ लाख ८१ हजार ५२६ रुपैयाँ र पूँजीगततर्फ २१ अर्ब ४७ करोड ६४ लाख १ हजार ७९८ रुपैयाँ बजेट छुट्याएको थियो । चालूतर्फ ७९ दशमलव ४३ र पूँजीगततर्फ ८४ दशमलव ४४ प्रतिशत गरी जम्मा ८२ दशमलव २८ प्रतिशत बजेट खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।