२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी

Author Uttari Morang
बिहिबार, साउन ०४, २०८०
बेलबारी साना सहरी तथा खानेपानीमा गडबडी
 बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिमा अनियमितता भएको छानबिन समितिले ठहर गरेको छ ।

मोरङ बेलबारी – १ मा रहेको खानेपानीको ओभर हेड ट्यांकीको कम्पाउन्ड वाल र जाली लगाउने काममा समितिले अनियमितता गरेको छानबिन समितिको ठहर छ । निर्माण कार्यमा भएको खर्च अस्वाभाविक देखिएको भन्दै छानविन समिति बनाइएको थियो । समितिले तयार पारेको प्रतिवेदनमा अनियमितता देखिएको उल्लेख छ ।

बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिले आफैले गरेको निर्माणको काममा अनियमितता गरेको हो । २०७९ माघ ४ गते सञ्चालक समितिको बैठकले संस्थाका अध्यक्ष रुक्मिणी धिमाल, उपाध्यक्ष केशवप्रसाद घले र समिति सदस्य शर्मिला लुंगेली मगरलाई काम गर्ने जिम्मा दिएको थियो ।

२०७९ चैत्र २९ गते बेलबारी १ का वडा अध्यक्ष मणिकुमार पुलामी मगरको अध्यक्षतामा बसेको भेलाले उपभोक्ता समिति बनाउने जिम्मा दिएको थियो । नगरपालिकाले चालु आर्थिक वर्षमा वाल तथा तार जाली निर्माणका लागि ६ लाख ५० हजार विनियोजन गरेको थियो । थप रकम भने बेलबारी साना सहरी तथा खानेपानी उपभोक्ता समितिले व्यहोर्ने गरी नगरपालिकामा सम्झौता भएको थियो ।

काम सकिएपछि विल भर्पाइ कार्यसमितिको बैठकमा पेस गर्दा शंकास्पद देखिएपछि लेखा सुपरिवेक्षण समितिका संयोजक राजेन्द्र थापाको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । समितिका सदस्यहरूमा जगतबहादुर क्षेत्री, प्रेमबहादुर गुरुङ, गणेशबहादुर बस्नेत ,होमबहादुर श्रेष्ठ थिए । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा ९ लाख ७२ हजार ६१५ रुपैयाँ २४ पैसा लाग्ने लागत अनुमान नगरपालिकाका प्राविधिकले गरेका थिए । तर, त्योभन्दा बढी मूल्य लागत लागेको विल भरपाई कार्यसमितिको बैठकमा कुरा उठेपछि छानबिन समिति बनाइएको थियो ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार १० लाखभन्दा बढी रकम खर्च भएको बिल पेश गरिएको थियो । छानबिन समितिको प्रतिवेदनमा शर्मिला लुंगेली मगरको अगुवाईमा १५ ट्याक्टर ढुंगागिटी र बालुवाको परिमाण व्यवसायीसँग मिलेर बढाएको देखिएको उल्लेख छ । समितिका सदस्यले बैठकमा कुरा उठाएपछि अध्यक्ष र उपाध्यक्ष चुपचाप बसेपछि अनियमितता भएको शंका भएको भन्दै समिति बनाइएको थियो । ढुंगागिटी ६५ ट्याक्टर खरिद गरिएको तर बिल भर्पाइ भने ८० ट्याक्टरको बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

ढुंगाको मूल्यसमेत अस्वाभाविक राखेर विल बनाइएको प्रतिवेदनमा जनाइएको छ । ढुंगाको मूल्य अभिवृद्धि कर सहित ४ हजार रुपैयाँ उल्लेख गरिएको छ भने बालुवा र गिटी २ हजार ४ सय रुपैयाँमा खरिद गरिएको थियो । यो बजार भाऊभन्दा महँगो भएको प्रतिवेदनमा उल्लेख छ । बिना प्रतिस्पर्धा निर्माण सामग्री ल्याएर मिलेमतो गरिएको छानबिन समितिको ठहर छ । प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन । – हाम्रो मतबाट