नेपाल प्रहरी श्रीमती संघ र नोवेल शिक्षण अस्पताल बीच विशेष सहुलियत सम्बन्धी सम्झौता
Uttari Morang
विराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल तथा काठमाडौं महानगरपालिका भृकुटीमण्डप स्थित नेपाल प्रहरी श्रीमती संघ बीच नेपाल प्रहरीका कर्मचारी र आश्रित परिवारको नोवेल शिक्षण अस्पतालमा उपचार गराउदा विशेष सहुलियतका लागि सम्झौता भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयमा आ
योजित एक कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रवन्ध निर्देशक श्रीमती इन्दिरा शर्मा (बराल) तथा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता गरिएको हो । सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री राजेशनाथ बास्तोला, नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल र कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. सरोज कुमार सिंह, नेपाल प्रहरी श्रीमती संघका अन्य पदाधिकारीहरु लगायतका उपस्थिति रहेको थियो ।
सम्झौता पत्रमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत उपलव्ध गराउदै आईरहेको र नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका सदस्यहरुलाई नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा आई उपचार गर्दा विशेष सहुलियत दिने उद्देश्यले यो सम्झौता गरिएको उल्लेख छ । जस अन्तर्गत परिचय पत्र साथ आउने प्रहरी कर्मचारी वा निजको आश्रित परिवार सदस्यहरु (आमा, बुबा, श्रीमान वा श्रीमती, अविवाहित छोरा, छोरीहरु) उपचारको क्रममा आउँदा अस्पताल सेवामा २५% छुट उपलव्ध हुने छ ।
यो सुविधा बहिरङ्ग र अन्तरङ्ग सेवाहरुमा उपलब्ध हुनेछ । यो सहुलियत लिनका लागि नेपाल प्रहरीका कर्मचारीले आफ्नो परिचय पत्र र आश्रित परिवारको हकमा सिफारिस पत्र लिएर आउनु पर्ने छ । सम्झौता अनुसारकासेवा सुविधाहरु मिति २०८० पौष १ गतेबाट लागु भई २०८१ मंसिर मसान्तसम्म लागु हुनेछ ।




