२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव 

Author Uttari Morang
आइतबार, फाल्गुण ०६, २०८०
गठबन्धन तोडेर कांग्रेस नेतृत्वमा सरकार बनाउन सांसद शर्माको प्रस्ताव 

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रस्ताव अघि सारेका छन् ।

कांग्रेस महासमिति सदस्यसमेत रहेका सांसद शर्माले फागुन ७ गतेबाट सुरु हुने कांग्रेस महासमिति बैठकमा पेश गर्न लागेको १३ बुँदे प्रस्ताव पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै यस्तो प्रस्ताव अघि सारेका हुन् ।

भ्रष्टाचार नियन्त्रण र सुशासन, निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन, बेरोजगारी समस्या समाधान र औद्योगिक क्षेत्रको विकास लगायत विषयमा विस्तृत प्रस्ताव पेश गर्ने योजना बनाएका सांसद शर्माले अप्राकृतिक गठबन्धनको अन्त्य र कांग्रेसको नेतृत्वमा जनमुखी सरकार निर्माणको विषयलाई प्राथमिकताका साथ समावेश गरेका छन् । माओवादी केन्द्रसँगको गठबन्धनलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिदै सांसद शर्माले यो गठबन्धन तोडेर कांग्रेसको नेतृत्वमा जनमुखी सरकार बनाउनुपर्ने धारणा राखे ।

कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरूसँगको गठबन्धनबाट बनेको सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको र माओवादीको असक्षमताको भारी कांग्रेसले बोक्नु परिरहेको सांसद शर्माको ठहर छ । ‘अहिले सङ्घदेखि प्रदेशसम्म कांग्रेस सरकारमा छ । तर, त्यसको जग भने अप्राकृतिक छ । कांग्रेस भन्दा भिन्न राजनीतिक धारको माओवादी, एकीकृत समाजवादी र जसपासँग सहकार्य छ । यो गठबन्धन सैद्धान्तिक जगमा हेर्दा अप्राकृतिक भन्दा फरक पर्दैन,’ सांसद शर्माले भने, ‘कुनै कार्यक्रम नै नमिल्ने पार्टीहरूसँगको गठबन्धनबाट बनेको सरकारका काम कारवाही प्रभावकारी हुन सकेका छैनन् । न गृह प्रशासन चुस्त छ, न आर्थिक प्रशासनमै सरकारले आशा जगाउन सकेको छ । देशको अर्थतन्त्र ध्वस्त भइरहँदा हाम्रै पार्टीको नेतृत्वमा रहेको अर्थमन्त्रालयको भूमिका शून्य छ । उदार अर्थनीति अपनाउने कांग्रेसले अर्थमन्त्रालय सञ्चालन गरिरहँदा नीजि क्षेत्र आतङ्कित र ध्वस्त छ । लगानीकर्ताहरूको मनोबल गिरेको छ । सबैतिर आर्थिक सूचकांक कमजोर बनेको छ । यसको एउटा कारण अप्राकृतिक गठबन्धन हो । अब यसको अन्त्य गर्नुपर्छ ।’

अब, तत्काल यो अप्राकृतिक गठबन्धनबाट अलग भई कांग्रेसले लोकतान्त्रिक शक्तिहरूलाई एकत्रित गरेर आफ्नो नेतृत्वमा जनमुखी सरकार गठन गर्नुपर्ने सांसद शर्मा बताउँछन् । अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेकाले यसको विकल्प खोज्नुपर्नेमा उनको जोड छ ।