२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

पत्रकार केशु विरहीद्वारा संग्रहित कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

Author Uttari Morang
सोमबार, फाल्गुण ०७, २०८०
पत्रकार केशु विरहीद्वारा संग्रहित कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’ सार्वजनिक

पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहास नामक पुस्तक सार्वजनिक भएको छ ।

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडाैमा सम्पन्न  कार्यक्रममा विरहीकाे नवाैँ कृतिकाे रूपमा  तेह्रथुमको साहित्यिक इतिहास लाेकार्पण गरिएकाे हाे ।

पाँच खणडमा रहेकाे यस कृतिभित्र विधासाहित्यकाे इतिहास, तेह्रथुमे लेखक तथा स्रष्टा परिचय, पालिकास्तरीय तथा तेह्रथुमे साहित्यिक सङ्घ संस्थाकाे व्यापक अध्ययन गरिएकाे छ ।

लाेकार्पणपछि कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय सहरी विकास मन्त्री सीता गुरुङले साहित्यिक कृति त्यसमा पनि अनुसन्धानात्मक लेख्न निकै कठिन हुने बताउँदै तेह्रथुमकाे साहित्यिक इतिहासले तेह्रथुमलाई चिनाउन मद्धत पुग्ने बताइन् । एउटा महत्वपूर्ण कार्य सम्पन्न गरेकामा लेखकलाई बभाई तथा शुभकामना दिइन् । तेह्रथुम जिल्लाकी सङ्घीय सांसदसमेत रहेकी गुरुङले सबैले जसले जे जानेको छ आआफ्नो ठाउँबाट लागिपरेमा तेह्रथुमको विकासमा ठूलो परिवर्तन आउने पनि बताइन ।

यस कृतिले तेह्रथुमलाई विश्वभर चिनाउनमा ठूलो सहयाेग रहने छ र यो ऐतिहासिक कृतिले अझ ठूलो इतिहास बनाउने बताईन ।

त्यसैगरी कार्यक्रममा प्रध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलले यस किताबमा तेह्रथुमकाे साहित्यिक इतिहासकाे फेहरिस्ता भएकाे बताए । इतिहास लेखन कहिल्यै पनि पूर्ण नहुने बताउदै छुटेका कुरालाई थप्दै जानू पर्ने बताए ।  उनले पाठकलाई यस कृतिमा देखिएका कमीकमजाेरीलाई आैल्याइदिन पनि आग्रह गरे ।

त्यसै गरी कार्यक्रममा आफ्नो सङ्क्षिप्त टिप्पणि प्रस्तुत गर्दै  नारी श्रष्टा समाज नेपालकी अध्यक्ष तथा साहित्यकार ममता मृदुलले यस कृतिले तेह्रथुमकाे साहित्यकाे मात्र नभएर त्यहाँ बस्ने मानिसकाे समेत सफा चित्र उतारेकाे बताइन् ।

कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक भगिराज इङनामले यस कृतिले एउटा क्याटलकका रूपमा काम गरेकाे बताए । पाठकले आफूलाई के मनपर्छ त्यही यस पुस्तबाट छानेर पढ्न सक्ने बताए ।

कार्यक्रमका सभापति तथा एपेक नेपालका अध्यक्ष विश्वमोहन श्रेष्ठले किताबको नामले नै  धेरै कुरा बोलिसकेकाले यसका बारेमा धेरै कुरा गर्न जरुरि नभएकाे बताउदै कृतिका बारेमा समय मिलाएर चर्चा परिचर्चा कार्यक्रम राखिनु पर्ने पनि बताए ।

लेखक केशु विरहीले आफूले यो कृति लेख्नकै लागि भनेर डेढ वर्षकाे पूरै समय खर्चेकाे बताउँदै थालेकाे काम सफल भएकामा खुसी व्यक्त गरे । पत्रकारसमेेत रहेका विरहीले प्रि-बुकिङ मार्फत् याे अभियान पूरा गर्न सहयाेग गर्ने महानुभावहरुप्रति आफू आभारी रहेकाे बताउँदै धन्यवादकाे असली हकदार आफूभन्दा उहाँहरू रहेकाे बताए ।

कार्यक्रममा कवि तथा गजलकार बाबु त्रिपाठीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रममको सञ्चालन सेसेमी लिम्बूले गरेका थिए ।

। काठमाडौँ क्रिएटिभ प्रकाशन (छापाखाना) मा छापिएको पुस्तक ४ सय ८० पृष्ठको छ ।