२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

Author Uttari Morang
सोमबार, बैशाख ०३, २०८१
काँकडभिट्टा–लौकही खण्डमा काटिंदैछन् राजमार्ग किनारका ११ हजार बढी रुख

काँकडभिट्टादेखि लौकहीसम्मको कुल ९६ किलोमिटर सडकलाई ४ लेनमा विस्तार गर्न सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि शुरु भएको छ ।
एसियाली विकास बैंक (एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईइबी)को कुल ४६ अर्ब रुपैयाँ लागत पूर्वपश्चिम राजमार्ग विस्तार गर्न योजना अनुसार हाल दुई लेनको सडकलाई चारलेनमा बिस्तार गर्ने काम थालिएको हो ।
कुल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिएको छ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नति हुनेछ ।

सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ, जसमा सडक खण्डमा पर्ने ६ वटा पुल निर्माणसमेत रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई नदी प्रमुख छन् ।

यस्तै दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ । आयोजनाका अनुसार सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ ।

राजमार्गको केन्द्रबाट २५–२५ मिटरका सडकमा स्तरोन्नति हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ । जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने काकडभिट्टादेखि लौकही सडक पूर्वखण्ड आयोजना दमक कार्यालयका इन्जिनियर आशिष देवले बताए ।

इन्जिनियर देवका अनुसार सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गरि कटान काम सुरु भएको छ । त्यसैगरी साइड क्लिरियरिङको काम पनि एकै साथ भैरहेको आयोजनाले जनाएको छ ।

पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एशियन कन्स्ट्रक्सन कर्पोरेसनले पाएको छ । उसले १० अर्ब रुपैयाँमा ४५ किलोमिटर सडक निर्माणको काम गर्ने गरी ठेक्का पाएको छ । अजरबैजानको कम्पनीसँग कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर रहेको छ ।

यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फर्स्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ । चिनियाँ कम्पनी फर्स्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ ।

यस्तै ८५ देखि ९७ किलोमिटरसम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले ठेक्का पाएको छ । सो कम्पनीसँगको ज्वाइन्ट भेन्चर पनि तोदी कन्स्ट्रक्सन रहेको इन्जिनियर देवले जानकारी दिए । १२ किलोमिटर सडक र ३०० मिटरभन्दा छोटा पुल निर्माणका लागि ४ अर्ब ७ करोड रुपैयाामा ठेक्का लागेको पनि इन्जिनियर देवले जानकारी दिए ।

आयोजनाका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरूको पुल निर्माण सम्झौता भएका कम्पनीहरूले गर्नुपर्नेछ । ३ सय मिटरभन्दा लामा पुल निर्माणका लागि चाइना रेलवे ग्रुप २ र युरो एसियन कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का पाएको छ ।

जसअनुसार ती कम्पनीले निन्दा, विरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको ठेक्का पाएका छन् । यी ६ वटा पुलको लागत ६ अर्ब रुपैयाँ रहेको छ । सडक क्षेत्रमा रहेका ४०४ वटा अस्थायी संरचना हटाउनु पर्नेछ । ती संरचना हटाउने प्रक्रिया सुरु भइसकेको छ ।

एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टामा डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ ।

बंगलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै चार लेनको पक्की पुल निर्माण गरिदिएको छ ।

स्थलमार्गबाट एसियाका देशलाई जोडेर व्यापार र पर्यटन प्रवर्द्धन गर्ने सो राजमार्गको मूल अवधारणा हो । थाइल्यान्डको बैंककबाट सुरु हुने एसियाली राजमार्ग रुट–२ अन्तर्गत म्यान्मार, बंगलादेश र भारत हुादै नेपालको कााकडभिट्टाबाट पूर्वपश्चिम राजमार्गमा मिसिन्छ ।
सो राजमार्ग हालको पूर्वपश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुादै भारतको दिल्लीतर्फ जोडिने छ ।