२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कानेपोखरी गाउँपालिकाद्वारा ५८ करोड ५७ लाख २५ हजारको वार्षिक बजेट पारित

Author Uttari Morang
मंगलबार, साउन ०१, २०८१
कानेपोखरी गाउँपालिकाद्वारा ५८ करोड ५७ लाख २५ हजारको वार्षिक बजेट पारित

पथरी समाचारदाता । 
मोरङको कानेपोखरी गाउँपालिकाको १६औं गाउँसभाबाट ५८ करोड ५७ लाख २५ हजार रुपैयाँको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।
आज सोहि पालिकाको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०८१/०८२ को लागि वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो।
सो सम्मेलनमार्फत गत असार ३१ गते सम्पन्न भएको गाउँ सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८१ का लागि आर्थिक विद्येयक, विनियोजन विधेयक, जलस्रोत उपयोग तथा व्यवस्थापन सर्वेक्षण संशोधन, अघिल्लो आर्थिक वर्ष २०८०/२०८१ मा भएका गाउँ कार्यपालिकाको बैठकका निर्णयहरू अनुमोदन गरिएको कानेपोखरी गाँउ कार्यपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए।
आर्थिक बर्ष २०८१/२०८२ का लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदानहरू, घरजग्गा रजिस्ट्रेसन आय, वडाबाट प्राप्त हुने आय, चिसाङ खोलाबाट प्राप्त हुने आय , बैंक मौज्दात,अल्या रकम सहित कूल ५८ करोड ५७ लाख २५ हजार रुपैयाँ अनुमानित आय हुने जनाईएको छ भने चालु प्रशासनिक खर्च कूल ८ करोड १ लाख रूपैयाँ , पूर्वाधार निर्माणका लागि ३ करोड ९६ लाख रूपैयाँ , आर्थिक विकासका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ , शिक्षा तथा सामाजिक विकासमा ५ करोड २१ लाख ९६ हजार ४५ रूपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका निमित्त १ करोड १६ लाख, लगायतका विभिन्न शिर्षकहरूमा पुँजीगत खर्च विनियोजन गरिएको जनाइएको छ। सोही क्रममा उक्त पालिकाका कुल ७ वटा वडाहरुको लागि ४ करोड ४७ हजार रुपैयाँ बराबरको वडागत सिलिङ्ग बजेट प्रस्तुत गरिएको थियो। सोही अवसरमा केही प्रमुख प्राथमिकता योजनाका कार्यक्रमबारे जानकारी दिएको थियो । जसमा ४८ सय ४५ मिटर कालोपत्रे र २८ सय मिटर ब्रेन सहितको सडक स्तरोन्नति गरिने, प्रशासनिक भवन निर्माणको लागि ५० लाख, नागरिक आवास निर्माणका लागि साझेदारी गर्नका लागि १ करोड , सुरक्षित आवास निर्माणमा साझेदारी गर्नका लागि ५० लाख , जस्ता विभिन्न योजनाहरु सञ्चालनका लागि समेत बजेट विनियोजन गरिएको कानेपोखरी गाँउ कार्यपालिकाकी अध्यक्ष राजमती ईङ्नामले बताइन।
उनले विगत ३ वर्षदेखि आफ्नो गाउँपालिकाले निरन्तर रूपमा रायो तथा तोरीजन्य उत्पादन जस्तै रायोको गुन्द्रुक, तोरीको तेल उत्पादन तथा प्रशोधन, मस्यौरा, आदिको उत्पादन गर्नका लागि वर्षेनी बजेट विनियोजन गरिरहेको छ भने यस बर्षदेखि कोशी प्रदेश सरकारले गुन्द्रुक प्रशोधनका लागि ड्रायर र रोलर खरिदका लागि ७ लाख रूपैयाँ बराबरको सहयोग प्रदान गर्ने बताए।
सोही क्रममा प्राविधिक विधामा रोजगारी, कानेपोखरीका छोराछोरी , सासुको इच्छा बुहारीलाई शिक्षा, छात्रासँग अध्यक्ष कार्यक्रम, नागरिक सहायता, घरमै गएर जन्मदर्ता अभियान, भूमि सम्बन्धीको कार्य, कोसेली घर निर्माण, आदि कार्यक्रमहरू संचालन गरिने भएको छ। उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादव , वडा नम्बर ३ का वडाध्यक्ष गोपाल कार्की, वडा नम्बर ७ का मोहनप्रसाद अधिकारी, विभिन्न विषयगत शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।