२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङ कारागारमा बेलबारी घर भएका एक कैदीको मृत्यु

Author Uttari Morang
मंगलबार, भाद्र २५, २०८१
मोरङ कारागारमा बेलबारी घर भएका एक कैदीको मृत्यु

जिल्ला कारागार मोरङका १ जना कैदीको उपचारका क्रममा  मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको विराटनगरस्थित कोशी अस्पतालमा आइतबार  मृत्यु भएको हो । खुट्टा सुन्निने र मुटुमा समस्या देखिएका कारण उनलाई उपचारका लागि भदौ २० गते अस्पताल भर्ना गरिएको थियो ।
मोटरसाइकल चोरीका विभिन्न घटनामा संलग्न तामाङको उपचार हुँदाहुँदै मृत्यु भएको कारागारका जेलर चेतनाथ बरालले बताए । स्वास्थ्यमा सुधार नभएपछि  थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको तर, थप उपचार नपाउँदै तामाङको ज्यान गएको जेलर बरालले बताए  ।

विभिन्न ठाउँमा मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध ५ वटा जिल्लामा चोरी मुद्दा चलेको छ । मोरङमा मात्रै २ वटा मुद्दा छन् । एउटा मुद्दाको फैसला भइसकेको छ भने अर्को विचाराधीन नै छ ।
तामाङविरुद्ध मोरङ बाहेक झापा, सुनसरी, इलाम र धनकुटामा मुद्दा छन् । मोरङमा रहेको एउटा मुद्दामा जिल्ला अदालतले ४ महिना कैद र १५ हजार रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।अर्को मुद्दामा १ लाख रुपैयाँ धरौटी माग भएको थियो । धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

उनीसँग चोरी मुद्दामै धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रुपैयाँ माग भएको थियो । दुवै अदालतले मागेको धरौटी तिर्न नसकेपछि उनी कारागार चलान भए ।

जिल्ला कारागार मोरङमा क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन् । जसका कारण कारागारभित्र कैदी बन्दीको दैनिकी निक्कै कष्टकर बनिरहेको छ । उनीहरूलाई खाने, बस्ने र सुत्ने ठाउँको सङ्कट भइरहेको छ । जेलर बरालका अनुसार कारागारमा हाल ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी छन् ।