२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न

Author Uttari Morang
सोमबार, भाद्र २४, २०८१
शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौं वार्षिक साधारण सभा  सम्पन्न

पथरी शनिश्चरे समाचारदाता / मोरङको पथरीशनिश्चरे वडा नं. ९, ७ र ४ मा सिंचाई गर्दै आएको शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा शनिबार समापन भएको छ ।
पथरीशनिश्चरे—७, बकैनाडाँडा स्थित जनप्रिय टोलमा भएको साधारण सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण प्रतिवेदन र भावि कार्ययोजना पास गर्दै समापन भएको हो ।
पथरीशनिश्चरे नगर ४ नं. वडाको पूर्ब अध्यक्षसमेत रहेका संस्थाका अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय विराटनगरको अधिकृत चोलेन्द्र बिक, वडा सदस्य नरेश राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा अस्थायी प्रहरी चौकी किर्तिपुरका प्रमुख प्रहरी सहायक निरीक्षक कमलबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कर्यक्रममा सिचाइ कार्यालय प्रमुख बिकले कार्यालयले नयाँ सिंचाई निर्माण, पैनी मर्मत, थोपा सिचाई, डिप ट्युवेल निर्माण र नदी नियन्त्रण लगायतको क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्यक्रममा शान्तिपथ सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भण्डारीले नगरको तीन वटा वडाको १ सय ४३ घर परिवार उपभोत्ता रहेको र करिव २ सय बिगाहा खेतिमा सिंचाइ भइरहेको बताए । भण्डारी एक बर्ष अघि समितिको अध्यक्षमा निर्वाचित भएर आएका हुन् ।
आफ्नो नेतृत्वमा समिति गठन भएपछि प्रदेश, नगर र वडाहरुबाट १४ लाख ८३ हजार ३२८ रुँपैया बराबरको पैनी मर्मत कार्य भएको अध्यक्ष भण्डारीले बताए ।
आफ्नो नेतृत्वमा समिति गठन हुनु अघि करिव १५ बर्ष संस्था नवीकरण नभएको कारण सरकारी बजेटबाट कुनै काम नभएको र संस्था नवीकरण भएपछि सरकारी बजेटबाट पैनी मर्मत लगायतको कामबाट किसानलाई राहत दिएको अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा संस्थाका सचिव देबिन्द्र थेबे लिम्बूको प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ ।
कार्यक्रममा उपस्थित पैनी उपभोक्ता कृषकहरुले कृषि प्रधान देश भनिएपनि संघ, प्रदेश, स्थानीय सरकारले कृषि क्षेत्रमा बजेटको प्राथमिकता नपर्ने गरेको गुनासो गरे ।
सभाको उद्घाटन कार्यक्रममा जेष्ठ उपभोक्ता ललितादेवि ढकाल र वीरबहादुर गोलेलाई खादा तथा नगदले सम्मान गरेका थिए ।