२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

पञ्चायत माविमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम 

Author Uttari Morang
शनिबार, भाद्र २९, २०८१
पञ्चायत माविमा लागू पदार्थ दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम 

पथरीशनिश्चरे समाचारदाता । मोरङको पथरी शनिश्चरे- १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले लागू पदार्थ र दुर्व्यसनी विरुद्ध जनचेतनामूलक प्रभातफेरी निकालेको छ।

शुक्रबार ६० औँ राष्ट्रिय बाल दिवसको अघिल्लो दिन ” बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ आयोजित प्रभातफेरीमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध प्लेकार्ड सहित पम्पलेट बाँड्दै विद्यार्थीहरुले विभिन्न नारा लगाएका हुन्।
कक्षा -५ देखि १२ सम्मका विद्यार्थीहरुले विद्यालयबाट सुरूवात गरेको र्यालीले हनुमानचोक – शिखर चोक – बुद्ध चौकहरूमा ‘ लागु पदार्थले जीवन बर्वाद गर्छ, आफ्नो जीवनलाई बर्वाद हुन नदिनुहोस्, लागु पदार्थ दुर्व्यसनीमा नफसौं, आदि नारा लगाउँदै बजार परिक्रमा गरेका थिए। सोहि क्रममा विद्यार्थीहरुले पसल पसलमा बढ्दो लागू औषध विरुद्ध हाम्रो सार्वजनिक अपिल’ भन्ने पम्पलेट बाँड्दै हिँडेका थिए। पम्पलेटमा भोला ,गुडका ,तमाखु, सुर्ती जन्य तथा अन्य नशालु वस्तुहरू बिक्री वितरण नगर्न आग्रह समेत गरेका थिए।
सोहि अवसरमा कक्षा १२ , कानुन विषयकी छात्रा निवा चेम्जोङले लागुऔषध दुर्व्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको भन्दै लागूऔषध विरूद्ध हामी सबै एकजुट भै लाग्न अनुरोध गरिन्।
अर्की, कक्षा १२ शिक्षा संकायकी सुजता तामाङले बजारमा पाईने विभिन्न लागुऔषध तथा नशाजन्य चिजहरु उपभोग गर्नु हुँदैन, हामीले यस्तो सेवन गर्नुहुदैन , हानिकारक हुने सुझाव दिईन।
सोहि अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले लागु पदार्थ दुर्व्यसनीबाट बचौं भन्ने अभिप्रायले विद्यालयका विभिन्न ८ समुहका विद्यार्थीहरुलाई सहभागी गराई जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको बताउनुभयो। विद्यालय समयमा विद्यालय आसपासमा रहेका पसल तथा अभिभावकहरुबाट टिफीनको समयमा नानीबाबुहरूलाई त्यस्ता मदिराजन्य, लागु पदार्थ , अखाद्य वस्तु र अन्य कानुनले निषेध गरेका सामानहरू बिक्री वितरण नगर्न आग्रह गर्दै प्रभातफेरी आयोजना गरिएको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष युवराज वास्कोटाले लागु पदार्थ दुर्व्यसनीबाट हाम्रा बालबालिकाहरूलाई बचाउन सकियो भने दुर्व्यसनी नियन्त्रण गर्न सकिन्छ। झण्डै ४० हजार बढी बालबालिकाहरू प्रभावित भएको तथ्याङ्क सार्वजनिक भएको पाईएको भन्दै उनीहरूलाई विद्यालयबाटै जनचेतना जगाइ अभिभावक सम्म पुगोस् र भोलिको कर्णाधार जनशक्ति सबल बनाउनु हाम्रो उद्देश्य रहेको बताउनुभयो।।।

विद्यालयका शिक्षक शिक्षिका , ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी जवान , पूर्व विद्यार्थी संगठन, स्थानीय जनप्रतिनिधि लगायतले प्रभावफेरिमा सहभागिता जनाएका थिए भने विद्यालयले दोस्रो चरणमा कक्षा ५ देखि मुनि र कक्षा ६ देखि माथिका विद्यार्थीहरूलाई दुईटा समूह बनाई विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो।