२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारीमा पनि सञ्चालन भो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

Author Uttari Morang
मंगलबार, मंसिर ११, २०८१
बेलबारीमा पनि सञ्चालन भो लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

बेलबारी नगरपालिकाको आयोजनामा बेलबारीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

मंसिर १० देखि २५ गतेसम्म चल्ने अभियानको सोमबार उद्घाटन भएको छ । उद्घाटन कार्यक्रम अन्तरगत बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाको नेतृत्वसहित बेलबारीका महिला अधिकारकर्मी तथा विभिन्न संघ संस्थाको सहभागितामा प्रभातफेरि गरिएको छ । प्रभातफेरिमा श्रमिक महिला समूह, आदिवासी जनजाति महिला संघ,उज्यालो महिला फेडेरेसन , महिला प्रतिभा संघ, महिला अधिकारका लागि राष्ट्रिय अभियान,समुदाय प्रहरी साझेदारी,लगायत झन्डै एक दर्जन संघ संस्था र स्कुलका छात्राहरुसमेत गरी ३ सयभन्दा बढीको सहभागिता थियो ।
हामी सबैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नारासहित अभियान शुरु भएको हो । प्रभातफेरिमा सहभागीहरुले महिला रोकिए संसार रोकिन्छ, हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता, हुदैन देशको समृद्धिः महिलाको नेतृत्व सुनिश्चित नगरी, मेरो आत्मनिर्भरता नै मेरो हिंसा विरुद्ध बोल्ने आधार, लैङ्गिक हिंसा नगरी समान व्यवहार गरौंः महिला पुरुष दुवै यो हिंसामा नपरौ, हाम्रो अभियान : आन्मनिर्भर छोरीको सम्मान, घर र समाजको ऐक्यवद्धता लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशिलता, महिला माथि हुने हिंसा मानव अधिकार हननको सवाल हो, म हिंसा सहन्न, आफु पनि गर्दिन र देखेमा प्रतिकार गर्छु, महिला हिंसा विनाको समाज : हाम्रो एकिकृत आवाज, सामाजिक समृद्धिको आधारः सुनिश्चित महिला अधिकार, किशोरीहरुमा लगानीः भविष्यको तयारी, हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशिलता, महिला रोकिए संसार रोकिन्छ, महिला हिंसा अन्त्यको लागि सबै जुटौः कोही नछुटौ, घरबाट सुरु गरौंः महिला हिंसा अन्त्य गरौ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेर नारा लगाएका थिए ।
प्रभातफेरिपछि नगरपालिका परिसरमा गरिएको कोणसभा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला प्रमुख अतिथि थिइन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।
उद्घाटन कार्यक्रममा उज्यालो महिला फेडेरेसन बिमला सुवेदी, महिला प्रतिभा संघकी सकुन्तला सुवेदी, बेलबारी ३ की महिला वडा सदस्य बिमला तामाङ,बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण ढकाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बेलबारीकी प्रहरी सहायक निरीक्षक मनिसा गुरागाइँले यो दिवस १६ दिनमात्र होइन ३ सय ६५ दिन मनाउनुपर्ने बताइन् । उनले हिंसा महिला र वालवालिका मात्रै होइन पुरुषमाथी पनि हुने भएकोले उनीहरूलाई पनि यस्ता कार्यक्रममा सहभागी गराउनुपर्ने बताइन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइरालाले १६ दिनसम्म विभिन्न संघ संस्थाहरुको नेतृत्वमा सचेतनामूलक कार्यक्रम गर्ने बताइन् । नगरपालिकाले बर्षभरी नै लैंगिक हिंसा न्यूनीकरण र सचेतनामूलक कार्यक्रम संचालन गरिरहेको भन्दै उनले शिक्षा दिक्षामा समेत छोरा र छोरीहरूमा भएको विभेद अन्त्य गर्नुपर्ने उनले बताइन् ।