२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

काँकडभिट्टाबाट आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी

Author Uttari Morang
बिहिबार, मंसिर १३, २०८१
काँकडभिट्टाबाट आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ भने  ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ ।

आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वी नाका काँकडभिट्टाबाट ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ । सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् । सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी (दलहन), ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन् ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो २० करोड ५५ लाखको अदुवा, छ करोड ४८ लाखको बन्दाकोभी, एक करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र ११ करोड ५३ लाखको अन्य कृषि बाली भारत निर्यात भएको छ ।

चार महिनामा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल, ११ करोड सात लाखको लसुन, छ करोड ४४ लाखको कोदो, पाँच करोड ३४ लाखको सागसाब्जी र पाँच करोड दुई लाखको अन्य कृषि बाली आयात भएको छ । कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुग्ने ठाकुरको भनाइ छ ।

पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ । यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन ।