२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बुवाको काजकिरिया गर्न किरियापुत्री बसे दुई छोरीहरु

Author Uttari Morang
बुधबार, पुष ०३, २०८१
बुवाको  काजकिरिया गर्न किरियापुत्री बसे दुई छोरीहरु

मोरङमा दुई दिदी बहिनीहरु दिवंगत बुवाको किरियापुत्री बसेका छन् ।
समाजमा छोरा छोरीमाथिको भेदभावविरुद्ध सन्देश दिँदै उनीहरूले बाबुको काजकिरिया गरेका हुन् ।
धनकुटा जिल्लाको सान्ने घर भइ हाल मोरङ बिराटनगर महानगरपालिका वडा नम्बर १४ मा बस्दै आएका ४१ बर्षिय नेत्र बहादुर पान्डेको असामयिक निधनपछि छोरीहरू डेनिसा पाण्डे र चेल्सिया पान्डे किरियामा बसेका छन् । होटल व्यवसायी पाण्डेको मिर्गौलामा समस्याका कारण शनिबार निधन भएको थियो ।
उनीहरूले घाटमै पुगेर बाबुलाइ दागबत्ती दिएका थिए । आमा मैयाँ पान्डेसँगै दुई छोरीले धार्मिक विधिअनुसार किरिया गरिरहेका छन् । रुढीबादी र गलत संस्कार तोड्दै आफूहरूले बाबुको किरिया गरिरहेको डेनिसाले बताइन् । छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नु हुँदैन भन्ने गलत मान्यता रहेको बताउँदै उनले भनिन्, ‘बुवाका सन्तान बहिनी र म मात्र हौं, बुवाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौं ।’ सुरुका केही दिन आफन्त र छिमेकीले असहज माने पनि अहिले प्रशंशा गरिरहेका उनले बताइन् ।