२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

विद्यार्थीहरुको सिकाइका लागि फलदायी बन्यो शैक्षिक प्रदर्शनी

Author Uttari Morang
शनिबार, माघ ०५, २०८१
विद्यार्थीहरुको सिकाइका लागि फलदायी बन्यो शैक्षिक प्रदर्शनी

बेलबारी नगरपालिकाको आयोजनामा भएको प्रथम विद्यालय तह बृहत् शैक्षिक प्रदर्शनी विद्यार्थीहरुको सिकाइका लागि प्रभावकारी देखिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीहरूद्वारा निर्मित रोबोटबाट उद्घाटन गरेको चार दिने प्रदर्शनी विद्यार्थीहरुको सृजनाको हिसाबले प्रभावकारी देखिएको हो ।
बेलबारी ११ मा रहेको लक्ष्मी खेलमैदानमा माघ ३ देखि ६ गतेसम्म सञ्चालन भैरहेको प्रदर्शनीमा बेलबारीभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको छ । प्रदर्शनीमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान तथा प्रविधिका विभिन्न सामग्रीहरू परम्परागत सामग्रीदेखि हवाई जहाज तथा रोबर्ट आदिले कार्यक्रमको विशेष आकर्षण बनेका छन् ।
कार्यक्रमको दोस्रो दिन शुक्रबार प्रदर्शनीस्थल पुग्दा विद्यार्थीहरुले राखेका स्टलहरु हेर्नेको भिडभाड थियो ।
प्रदर्शनीस्थलमा एक दर्जनभन्दा बढी परम्परागत र पुरातात्त्विक सामग्रीका स्टलहरुमा बाउ बाजेका पालाको झल्को दिने गरेको छ । प्रदर्शनीमा अमर सेकेण्डरी स्कुलका विद्यार्थीहरुले परम्परागत सामग्रीहरु हर्पे, क्यासेट, डोको, तामे गाग्री, लाल्टिन, कुपी, माना, पाथी पेरुङ्गो आदि प्रदर्शनीमा राखेका छन् । त्यसैगरी
गुरुकुल पाठशालाका विद्यार्थीहरुले झ्याम्टा, ढोल, हार्मोनियम,मादल, ओख्ली, मुस्ली, ढिकी, जाँतो, ठेकी, मदानी, पेरुङो, फुङा, सिक्काको माला, डालो, मकैको झुत्ता, डुना, टपरी, घैंटो, रिल क्यामेरा लगायत धान, मकै गहुँ, दाल र तिलबाट बनाएको नेपालको नक्सा प्रदर्शनीमा राखेका छन् ।
त्यस्तै बेलबारी ६ को बिरेन्द्र माविका विद्यार्थीले माछा राख्ने बाँसको खुँगी, ठेकी मदानी, मान्द्रो, हलो, जुवा, सन्थाल भेषभुषा, दमाहा, तुन्दा जस्ता सामग्री प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीमा मोरङ ज्ञानोदयका विद्यार्थीले कपडा बुन्ने चर्खा,, हुलाक टिकट, पुस्तक, गरहहना, ढीकी तथा धिमाल भेषभुषा जस्ता सामग्री प्रदर्शन गरेका छन् ।
लक्ष्मी माविका विद्यार्थीले ढोल, झ्याम्टा, लाखे पहिरनदेखि हलो जुवा, हर्पे, ठुन्से, माना पाथी, ढिकी जाँतो, कोक्रो, धनुष काँड, रोटेपिङ आदि प्रदर्शन गरेका छन् ।
त्यसैगरी बेलबारी ८ को सिंहदेवी एकेडेमीका विद्यार्थीले प्रदर्शनीमा धिमाल बस्ती, चौधरी बस्ती, लिम्बु बस्ती, मगर बस्ती र राजबंशी बस्ती तथा रहनसहन, चुलो, पिरा, डोको , हलो, ठेकी जस्ता कुराहरू राखेका छन् ।
बेलबारी १० मा अबस्थित महेन्द्र मावि, परम्परागत घरायसी सामग्री तथा बिविध श्रोतबाट संकलित सामग्री तथा घण्टाघर, मन्दिर , ग्लोब, एवम् गमलामा रोपिएका विभिन्न जातका बिरुवा आदि प्रदर्शन गरेका छन् ।
त्यस्तै बेलबारी २ को शिक्षा सन्देश इङ्लिस स्कुलका विद्यार्थीहरुले धरहरादेखि आधुनिक भवन, मन्दिर, परम्परागत घर मात्रै होइन, परम्परागत सामग्री राखेका छन् ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विज्ञान र प्रविधिको युगमा किताबी ज्ञानले मात्र पूर्ण नहुने बताउँदै नगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गरेको बताए ।
प्रदर्शनीमा विद्यार्थीले तयार गरेका कलात्मक आकृति, पेण्टिङ, हस्तकला सामग्री मात्रै होइन गणितसँग सम्बन्धित स्टलहरु पनि राखिएका छन् ।
प्रदर्शनीमा विभिन्न स्कुलका विद्यार्थीहरुले पहाड पर्वतका आकृति, सोलार पावर प्लाण्ट, भुकम्प प्रतिरोधात्मक संरचना, पाचन प्रणाली, इलेक्ट्रोनिक गाडी कुलो पैनीको फोहोर सफा गर्ने मेसिन आदि प्रदर्शनीमा राखेका छन् ।
प्रदर्शनीको उद्घाटनकै दिन गुरुकुल स्कुलका विद्यार्थीहरुले हवाई जहाज उडाएर सबैलाई चकित पारेका थिए । त्यसैगरी बेलबारी १० स्थित लक्ष्मी माविका विद्यार्थीले बनाएको ३ जना बसेर सवारी गर्न मिल्ने बग्गी बनाएर प्रदर्शनीस्थलमा इच्छुक ब्यक्तिहरुलाइ घुमाउने गरेका छन् ।
प्रदर्शनीमा चित्रकला तथा मुर्तिकला प्रदर्शनी,बौद्ध गुम्बासँग सम्बन्धित सामग्री, कविता कर्नर, भाषा तथा साहित्य प्रदर्शनी जस्ता स्टलहरु पनि छन् ।
प्रदर्शनीस्थलको पश्चिमतर्फ विभिन्न स्कुलका विद्यार्थीले खानेकुराका स्टलहरु पनि राखेका छन् । जसमा भुटेको मकै, सेलरोटी,फुरौला, भुजाको डल्ला, पकौडा, आलु परौठा, फ्राइ राइस, चटपटे लगायतका खानेकुराहरु बिक्री गर्ने गरिएको छ ।