ईरान राईको कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक
Uttari Morang
मोरङको बेलबारीका साहित्यकार ईरान राईको पछिल्लो कृति कविता सङ्ग्रह ‘इतिहास’ सार्वजनिक भएको छ ।
शुक्रवार बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी नगरपालिका १ स्थित सगरमाथा इङ्ग्लिस स्कुलको सभाहलमा सार्वजनीकरण कार्यक्रममा सार्वजनिक गरिएको हो । प्रमुख अतिथि, विशिष्ट अतिथि, अध्यक्ष र कृतिकारहरूले संयुक्त रूपमा कृति इतिहास’को सार्वजनीकरण गरेपछि प्रमुख अतिथि वरिष्ठ साहित्यकार पूर्व सांसद हर्कमान तामाङले पूर्व प्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको ‘ढुङ्गा’ शीर्षकको कवितामा उल्लेख भएको ढुङ्गा उत्पत्ति स्थलबाट लड्दैपड्दै, दरालिँदै, पिल्सिँदै अन्तिम अडानको अवस्थामा आइपुगेर राम्रो चिल्लो भए जस्तै ईरानराई पनि विभिन्न हन्डर, ठक्कर खाँदै यो अवस्थामा आइपुग्नु सुन्दर कुरा भएको बताए ।
विशिष्ट अतिथिका रूपमा साहित्यकार बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले हाम्रो शरीरको सबैभन्दा जटिल अङ्ग भनेको न्युरोन (गिदीभित्रको तन्तुहरू) हुन्, तिनै न्युरोनहरूलाई नकारात्मक रूपमा चलाउनेहरू पनि समाजमा प्रशस्त भएका तर कवि ईरानराईले उनका न्युरोनहरूलाई जहिल्यै सकारात्मक र सृजनशील कार्यमा व्यस्त बनाएको बताए । समालोचक मिश्र बैजयन्तीले ईरानराईका अन्य कृतिहरूमा जस्तै यो ‘इतिहास’मा पनि राजनैतिक, सामाजिक, शैक्षिक क्षेत्रहरूमा भएका विकृतिका विरुद्ध तिखो व्यङ्ग्य तर सरल भाषामा भएको टिप्पणी गरिन् ।
कृतिकार ईरान राईले २०४२ सालदेखि कविता लेखन सुरु गरेको हुनाले ‘इतिहास’मा ४२ ओटा कविताहरू सङ्गृहीत गरेको जानकारी गराउँदै कृतिभित्र कै ‘आजकल म जोगबनी जान्नँ’ शीर्षकको कविता वाचन गरेका थिए । साथै राईले मूल धन नमासिने गरी सोही संस्थाले अगाडि पुरस्कृत गरेको रु.२५ हजारमा थप गरी रु.५१ हजार नवप्रतिभा पुरस्कारका लागि प्रदान गर्ने घोषणा पनि गरेका थिए ।
कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, कोशी प्रदेश अध्यक्ष तिला लेकाली, साहित्य कला सङ्गम, झापाका अध्यक्ष विष्णु न्यौपाने र डियर कल्याण साहित्य प्रतिष्ठान, सुनसरीका अध्यक्ष विनोद घिमिरे ‘विवश’ले शुभकामना मन्तव्य राखेका थिए ।
बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले कृति–शीर्षक कविता ‘इतिहास’, स्रष्टा समाज, मोरङका अध्यक्ष जेबी थुलुङले ‘उडान’ र विराटनगरकी साहित्यकार सविना श्रेष्ठले ‘असार पन्ध्र’ कृतिभित्रका कविताहरू वाचन गरेका थिए । साहित्यकार रोहिणी रसिक, नवराज पोख्रेल नवशिला र एकराज भट्टराईले आआफ्ना रचना वाचन गरेका थिए । संविधान सभा सदस्य मधु गुरुङ, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, कण लघुकथा मञ्चका अध्यक्ष दीप मङ्ग्राती, वडाध्यक्षहरू योगेन्द्र सुवेदी र कृष्ण गुरुङ, समाजसेवीहरू विदुर सुवेदी, नवराज भट्टराई, परशुराम सुवेदी, प्रताप थापा, धनजित पराजुली, विमला पोख्रेल, केशु विरही, अजित धिमाल लगायतको आतिथ्य रहेको थियो ।का



