बेलबारीको एलएक्स सिटी क्लब १२औं रारा गोल्डकपको फाइनलमा
Uttari Morang
मोरङ बेलबारी स्थित एलएक्स सिटी क्लब धनकुटाको राजारानीमा जारी १२औं गोरखा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै एलएक्स सिटी उपाधि नजिक पुगेको हो।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएको थियो। चर्च ब्वाइजका समीर तामाङले दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि खेलको अन्तिम मिनेटमा एलएक्स सिटीले
पाएको पेनाल्टीमा छिरिङ गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि खेल टाइब्रेक हुँदै सडन डेथमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि चर्च ब्वाइजका समीर तामाङले निर्णायक प्रहार चुकाएपछि एलएक्स सिटीले जित हात पार्यो। एलएक्स सिटीका गोलकिपर विवेक मगरले निर्णायक बचत गर्दै टोलीलाई जित दिलाए । ‘प्लेयर अफ द म्याच’को उपाधि पनि जिते।
उपाधिका लागि एलएक्स सिटी एफसीले सोमबार हुने फाइनलमा बिर्तामोड युनाइटेड एफसीसँग खेल्नेछ। प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सहलेस फुटबल क्लब सिरहा, चर्च ब्वाइज युनाइटेड, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार सुनसरी, एलएक्स सिटी मोरङ, बिर्तामोड युनाइटेड र डाँडाबजार फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए ।




