२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गीत/साहित्य

बेलबारीमा गरियो ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम

Author Uttari Morang
मंगलबार, जेठ २८, २०८२
बेलबारीमा गरियो ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम

 दिवङ्गत गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथिको चर्चा गर्दै मोरङको बेलबारीमा ‘सम्झनामा गणेश रसिक’ कार्यक्रम सम्पन्न भएको छ ।

‘ जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश इङ्ग्लिस स्कुलको संयुक्त आयोजनमा कार्यक्रम गरिएको हो । पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईँ बरबरिक, सुन्दहरैँचा कला, साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका व्यक्तित्वले रसिकसँगलाई सम्झिएका थिए । शिक्षा सन्देश इङ्ग्लिस स्कुलका विद्यार्थीहरूको समेत बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताले गीत, सङ्गीत तथा साहित्यकै कारण रसिक अमर रहेको बताउँदै बालबालिकालाई पनि अमर हुने काम गर्न सुझाएका थिए ।

 कार्यक्रममा लेखक तथा पत्रकार केशु विरहीले रसिकको ‘जीवनी, व्यक्तित्व तथा कृतित्व’ माथिको चर्चा गरे ।

रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा प्रस्ट पार्दै लेखक, स्रष्टा तथा कलाकार सधैँ अमर रहने हुनाले उनीहरूको तस्बिरमा फूलमाला तथा अबिर चढाउन नपर्ने विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश इङ्ग्लिस स्कुलका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवर्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको उपस्थिति रहेको थियो । शिक्षा सन्देशमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीको समूहले मलाई प्यारो लाग्छ भन्ने गीत प्रस्तुत गरेको उक्त कार्यक्रममा आइतराज लिम्बू, जुनु बुढाथोकीलगायतको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो ।

साथै स्रष्टाहरू लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सिजन श्रेष्ठ, एकराज भट्टराईलगायतका लेखक तथा स्रष्टाहरूको रचनावाचन रहेको थियो । शिक्षा सन्देश इङ्ग्लिस स्कुलका अध्यक्ष भूपाल बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन मुक्तककार नवराज पोखरेल ‘नवशिला’ले गरेका थिए ।