२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगर क्षेत्रमास्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै

Author Uttari Morang
मंगलबार, फाल्गुण १३, २०८१
बेलबारी नगर क्षेत्रमास्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै

बेलबारी नगर क्षेत्रमा पछिल्लो समय स्वास्थ्य बिमा गर्नेहरुकोे संख्या बढ्दै गएको छ ।
नगर अस्पतालमा चेक जाँच तथा उपचार गर्न आएका बिरामीहरुका बिवरणका आधारमा नगर क्षेत्रमा स्वास्थ्य बिमा गर्नेहरु बढ्दै गएको देखिएको हो । अस्पताल प्रशासनका अनुसार २०८१ साउनदेखि मंसिर मसान्तसम्ममा बेलबारी नगर अस्पतालमा कूल २५ हजार १ सय ९७ जना बिरामीहरु अस्पताल आएका थिए । अस्पताल आउने कूल २५ हजार बिरामीमध्ये बिमा गरेका बिरामीहरुको संख्या २० हजार ४ सय ४४ र बिमा नगरेका बिरामीहरुको संख्या ४ हजार ७ सय ५३ रहेको बेलबारी नगर अस्पतालका प्रमूख नरबहादुर श्रेष्ठले जानकारी दिए । सो तथ्याङका आधारमा बिमा गर्ने बिरामीहरु ८१ प्रतिशत र बिमा नगर्ने बिरामीहरु १९ प्रतिशत हुन आउँछ । अस्पतालमा ९० प्रतिशत रोगको शंकामा जँचाउन र १० प्रतिशत बास्तबिक बिरामीहरु आउने गरेको र सर्नेभन्दा नसर्ने रोगका बिरामीहरु बढी आउने गरेको श्रेष्ठले बताए ।
बेलबारी नगर अस्पतालमा हाल स्वास्थ्य जाँच र उपचारका धेरैजसो सुबिधा उपलब्ध छन्् । शनिबार र सार्वजनिक बिदाको दिन बाहेक दैनिक बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मसेवा दिइदै आएको नगर अस्पतालमा रगत, दिशा, पिसाब र खकारका सबैखाले जाँचसहित दैनिक एक्सरे, भिडियो एक्सरेसमेतको सेवा उपलब्ध छ । एमडी र एमबीबीएस डाक्टरहरुबाट समेत उपचार सेवा दिईंदै आएको नगर अस्पतालमा हाल १ जना बिशेषज्ञ र २ जना एमबीबीएस डाक्टर एवम् स्वास्थ्यकर्मीसहित २७ जना कर्मचारी छन् ।
नगर अस्पतालमा उपचार गराउन आएका बेलबारी १ का कमल पाठकले अस्पतालमा उपचार सुबिधा राम्रै भएपनि सेवा छिटो छरितो नहँुदा बिषेश गरी अशक्त र बृद्धबृद्धाहरुलाइ बढी कठिनाइ भइरहेको बताए ।

अस्पताल ब्यबस्थापन समिति अध्यक्ष समेत रहेका बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राइले आफूहरु निर्वाचित भएयता नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यान्वयनमा ल्याइएको र बिषेशज्ञ सेवा सहित सबै खाले स्वास्थ्य उपचारको सुबिधा समेत थप गरेको बताए । सबै खाले उपचार र स्वास्थ्य बिमाको सेवा उपलब्ध भएपछि हाल नगर अस्पतालमा नगर क्षेत्रबाट मात्र नभई आसपासका पालिकाबाट पनि स्वास्थ्य बिमा गरेका बिरामीहरु आउने क्रम बढेको मेयर राइले जानकारी दिए ।
७ वटा बेड सञ्चालनमा रहेको अस्पतालमा हाल दैनिक सरदर २ सय बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
नगर अस्पतालमा पहिलोपटक उपचार गर्न आएकी बेलबारी ४ की सरस्वती राईले नगर अस्पतालले दिने सेवा सुबिधा आफूलाइ राम्रै लागेको बताइन् ।
तर बेलबारी नगरपालिकाको कूल जनसंख्याका आधारमा भने बिमा गर्नेहरु …….. प्रतिशत मात्रै छन् । बिक्रम सम्बत २०७८ को जनसंख्या अन्सार बेलबारी नगरपालिकाको कूल जनसंख्या ८१ हजार ७ सय ७१ छ । बेलबारी नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार बेलबारी बिमा गर्नेहरुको संख्या कूल संख्या भने ४६ हजार ८ सय ४९ जना मात्र छ । जसमा १२ हजार ६ सय ८० घरघुरी समेटिएका छन् ।
स्वास्थ्य बिमाका लागि ३५ सय पनि तिर्न नसक्ने नगरबासीलाइ नगरपालिकले वडा मार्फत ५० देखि सत प्रतिशतसम्म ब्यहोरेर बिमा गराउने गरेको छ । जनता उपचार कोशको सेवा लिने क्यान्सरजन्य रोगका बिरामीहरुलाइ पनि सचेतना जगाइ बीमा गर्न लगाइएकोले पनि बिमा गर्नेहरुको संख्या बढेको राइले बताए ।
सबैजसो जाँच र उपचार सेवा उपलब्ध भएपनि नगर अस्पताल बेलबारी १ मा अबस्थित साबिक बेलबारी प्राथमिक स्वास्थ्य चौकी परिसरमा सञ्चालन भइरहेको छ । पर्याप्त भवन नहुँदा अस्पताल प्रशासन भाडामा समेत सञ्चालन हँदै आएको छ । नगर अस्पतालका लागि करोडौं लागतमा बेलबारी ४ मा सुबिधा सम्पन्न अत्याधुनिक भवन निर्माण सम्पन्न भएपनि प्रदेश प्रहरी अस्पताल बेलबारीमा पुनस्थापित हुने र तत्कालका लागि प्रदेश प्रहरी अस्पताल नगर अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आशामा नयाँ भवनमा नगर अस्पताल सर्ने टुङ्गो लाग्न सकेको छैन ।