२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा भएको तोडफोड र आगजनीमा आफुहरुको संलग्नता नरहेको जेन्जीको दाबी

Author Uttari Morang
आइतबार, आश्विन ०५, २०८२
बेलबारीमा भएको तोडफोड र आगजनीमा आफुहरुको संलग्नता नरहेको जेन्जीको दाबी

बेलबारी नगरपालिका क्षेत्रमा रहेका Gen Z पुस्ताहरुको समूहले गत भाद्र २३ गते भएको आन्दोलनका क्रममा आफुहरुले बेलबारीमा कुनै तोडफोड र आगजनी नगरेको तर अराजक समुहको घुसपैठ भएको जनाएको छ ।
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेन्जी बेलबारीले सो स्पष्टीकरण दिएको हो । विज्ञप्तिमा आन्दोलनको क्रममा सरकारको दमनका कारण देशभर दर्जनौं युवाले ज्यान गुमाएको र सयौं घाइते भएको भन्दै गहिरो दुःख व्यक्त गरेको छ।
सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विज्ञप्तिमा शोकाकुल परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बेलबारीमा भदौ २३ र २४ गते शान्तिपूर्ण आन्दोलन गरिएको तर २४ गते बिहान ११ बजे सुरु भई दिउँसो १ बजे स्थगन गरिएको बारे प्रहरी प्रशासनलाई जानकारी दिइसकेर आफूहरू फर्किएपछि, केही अराजक समूह प्रवेश गरी सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीजस्ता अपराधिक कार्य गरेको भन्दै त्यसमा आफ्नो संलग्नता नरहेको Gen Z ले स्पष्ट पारेको छ।
प्रेस विज्ञप्तिमा बेलबारी नगरपालिकाको सम्पत्ति तोडफोड गर्ने समूहलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ। साथै, आन्दोलनकै क्रममा नगरपालिकाका केही जनप्रतिनिधिहरूले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको घटनाप्रति समूहले असहमति जनाउँदै, दबाबमा नपरी सेवामा फर्कन आग्रह गरिएको छ।
“यदि साँच्चिकै राजीनामा दिन चाहने हो भने आधिकारिक प्रक्रिया पूरा गरेर सहज बनाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।