२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

लास भेटिएको दुइ हप्तासम्म पनि पत्ता लागेनन् वालिका अंशुका हत्यारा 

Author Uttari Morang
शुक्रबार, कार्तिक २२, २०८२
लास भेटिएको दुइ हप्तासम्म पनि पत्ता लागेनन् वालिका अंशुका हत्यारा 

मोरङको लेटाङकी १३ वर्षीया अंशु गौतमको शव भेटिएको १३ दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन  । असोज २१ गते साँझ घरनजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी अंशुको शब १८ दिनपछि मृत फेला परेको थियो  । शव फेला परेपछि अनुसन्धानमा लागेको प्रहरीले हालसम्म पनि अपराधी पत्ता लगाउन सकेको छैन ।
लेटाङ नगरपालिका २ , स्कुलचोककी अंशु गत असोज २१ गते साँझ  घर नजिकै पिङ हालेको स्थानबाट बेपत्ता भएकी थिइन् । हराएको १८ दिनपछि बेलबारी–चिसाङ साझेदारी बनभित्र उनको शव क्षतविक्षत र कपडाविहीन अवस्थामा फेला परेको थियो । शवको अवस्था अत्यन्तै सडेको, शरीर टुक्रिएको र टाउको छुट्टिएको प्रकृतिको थियो । घटनास्थलमा भेटिएको चप्पल र कपडाका आधारमा आफन्तले शव पहिचान गरेपछि डीएनए परीक्षण गर्दा उनको शब पुष्टि भएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकाले पनि शव भेटिएको दुई साता बितिसक्दा पनि अपराधी पत्ता लगाउन सकेको छैन । मोरङ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) कवित कटवाल अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो सहित प्रदेश र जिल्लाको टोली खटिए पनि अपराधी पत्ता लगाउन जटिलता आएको बताउँछन् ।
शव १८ दिनसम्म ‘डिकम्पोज’ भएको कारण मेडिकल्ली बलात्कारको प्रुफ पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले डीएसपीको नेतृत्वमा टोली खटाएर सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको कटवालको भनाइ छ ।

स्थानीय बासिन्दाहरू हतियार प्रयोग गरेर हत्या गरिएको र बलात्कार भएको दाबी गर्छन् । प्रहरीले भने जंगली जनावरको आक्रमणबाट लास टुक्रा भएको हुन सक्ने आशंका गरेको छ ।यसैबीच, बालिकाको शव पोस्टमार्टम गरिए पनि आफन्तले न्याय नपाएसम्म शव नबुझ्ने अडान लिएका छन् । त्यसैले अंशुको शव १३ दिनदेखि बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमै राखिएको छ ।  प्रहरीले घटना भएको दिन र त्यसपछि सो क्षेत्रमा सक्रिय मोबाइल सिग्नलहरूको सूक्ष्म अध्ययन गरिरहेको छ ।
यसै क्रममा सोधपुछका लागि झुम्का कारागारबाट भागेका एक जना कैदी पक्राउ परेको स्रोतको दाबी छ । प्रहरी उपरीक्षक कटवालले अंशु हत्या प्रकरणमा चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।