२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

विश्वभरका नेपालीको संस्था एनआरएनको महाधिवेशन : एकता, समावेशी नेतृत्व र नयाँ दिशाको खोजी

Author Uttari Morang
शनिबार, फाल्गुण ३०, २०८२
विश्वभरका नेपालीको संस्था एनआरएनको महाधिवेशन : एकता, समावेशी नेतृत्व र नयाँ दिशाको खोजी

सरोज बास्तोला

गैरआवासीय नेपाली संघ (NRNA) को एकताको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार देखि काठमाडौंमा सुरु हुँदैछ। विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूको साझा संस्था मानिने यस महाधिवेशनप्रति यसपटक विशेष चासो र उत्साह देखिएको छ।

‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको सम्मेलनमा यसपटक ४ हजार २ सय ८६ प्रतिनिधिहरूले भौतिक तथा अनलाइन दुवै माध्यमबाट निर्वाचन प्रक्रियामा सहभागिता जनाउने बताइएको छ।

हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि देशभित्र परिवर्तन र नयाँ सोचबारे बहस चलिरहेका बेला आयोजना हुन लागेको यस महाधिवेशनलाई प्रवासी नेपाली समुदायले अर्थपूर्ण रूपमा हेरिरहेका छन्। विश्वभर रहेका नेपालीहरूको भावना, अनुभव र योगदानलाई एकताबद्ध गर्दै संघले सशक्त, समावेशी र दूरदर्शी नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।

प्रवासी नेपालीहरूको हकहित, पहिचान र योगदानलाई अझ प्रभावकारी रूपमा अघि बढाउने दिशामा महाधिवेशनले स्पष्ट मार्गचित्र तय गर्ने विश्वास गरिएको छ। साथै, गैरआवासीय नेपालीहरूबीचको एकता, सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने अपेक्षा पनि गरिएको छ।
यद्यपि, मध्यपूर्व क्षेत्रमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाका कारण महाधिवेशनको समय उपयुक्त नभएको टिप्पणी पनि आइरहेको छ। संघमा मध्यपूर्व क्षेत्रका नेपालीहरूको उल्लेख्य प्रतिनिधित्व रहेको हुँदा त्यहाँको वर्तमान परिस्थितिलाई मध्यनजर गर्नुपर्ने सुझावसमेत आएको छ। यस विषयमा संघको आफ्नै विधि–विधान तथा तयारीअनुसार आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ। सबै क्षेत्रका प्रतिनिधिहरूको सक्रिय उपस्थिति न हुदा न हुँदै पनि साझा प्रतिबद्धता र सहकार्यबाट महाधिवेशन सफल हुने विश्वास गरिएको छ।

सरोज बास्तोला
काठमाडौ