२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पर्यटकहरूको रोजाइमा पर्दै जेफाले, तर परेन राज्यको नजरमा

Author Uttari Morang
बुधबार, बैशाख ३०, २०८३
पर्यटकहरूको रोजाइमा पर्दै जेफाले, तर परेन राज्यको नजरमा
हरियाली डाँडाकाँडा, शान्त वातावरण, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यले भरिएको पूर्वी नेपालको आकर्षक पर्यटकी गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ जेफाले पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
इलामका प्रसिद्ध पर्यटन क्षेत्रझैँ विकास गर्न सकिने क्षमता हुँदाहुँदै पनि जेफाले आजसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन । पर्यटनको सम्भावना बढ्दै गए पनि आधारभूत पूर्वाधार अभावले स्थानीयवासी र पर्यटक दुवै समस्यामा परिरहेका छन् ।
सबैभन्दा ठूलो समस्या सडकको हो । वर्षौंदेखि स्थानीयले राम्रो सडकको माग गर्दै आए पनि जेफाले पुग्ने सडक अझै कच्ची र जोखिमपूर्ण अवस्थामै छ । वर्षायाममा हिलो र पहिरोका कारण यात्रा कठिन बन्ने गरेको स्थानीय बताउँछन् । पर्यटन प्रवर्द्धनको कुरा गर्ने सरकारी निकायहरूले प्रचारभन्दा व्यवहारिक पूर्वाधार निर्माणमा ध्यान नदिँदा यहाँ आउने पर्यटकले सास्ती खेप्नुपरेको छ । सहज सडक पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म पुर्‍याउनसमेत स्थानीयलाई कठिनाइ भइरहेको छ ।
सडकसँगै अर्को गम्भीर समस्या दूरसञ्चार सेवाको अभाव हो । अधिकांश क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीयवासी सामान्य सम्पर्कका लागि पनि डाँडाकाँडा चढ्न बाध्य छन् । आकस्मिक अवस्थामा एम्बुलेन्स बोलाउन, आफन्तसँग सम्पर्क गर्न वा इन्टरनेट प्रयोग गर्न नसक्ने अवस्था रहेको स्थानीयको गुनासो छ । डिजिटल युगमा समेत सञ्चारविहीन जीवन बिताइरहेका जेफालेवासी राज्यको उपेक्षाबाट निराश बनेका छन् । पर्यटन, कृषि र स्थानीय आर्थिक विकासको ठूलो सम्भावना बोकेको जेफालेमा अब सरकारको ध्यान पुग्न आवश्यक देखिएको छ ।
सडक, सञ्चार र आधारभूत पूर्वाधारमा लगानी गर्न सके यो क्षेत्र पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।