२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

शैक्षिक संस्थामा राजनीति गर्दैनौँ भन्ने रास्वपाले सुकुना क्याम्पसमा  लियो भागवण्डा 

Author Uttari Morang
मंगलबार, जेठ ०५, २०८३
शैक्षिक संस्थामा राजनीति गर्दैनौँ भन्ने रास्वपाले सुकुना क्याम्पसमा  लियो भागवण्डा 

मोरङ सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसको नयाँ नेतृत्व चयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि राजनीतिक भागवण्डामा हिस्सा लिएको छ ।

शैक्षिक संस्था र संघ–संस्थामा राजनीति नगर्ने घोषणा गर्दै आएका रास्वपाका नेताहरूले क्याम्पस सञ्चालक समितिमा आफ्ना प्रतिनिधि पठाएका हुन् ।

क्याम्पसको १९औँ परिषद् बैठकले नेकपा एमालेका नेता सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सोही कार्यसमितिमा रास्वपाले २ सदस्य र लेखा समितिमा १ सदस्य गरी कुल ३ पद लिएको हो ।

रास्वपाका तर्फबाट कार्यसमितिमा महेश आचार्य र तुलसी ढकाल चयन भएका छन् भने लेखा समितिमा देवीप्रसाद आचार्य छानिएका छन् ।

क्याम्पस सञ्चालक समितिमा एमाले, नेकपार रास्वपाबीच भागवण्डा मिले पनि नेपाली कांग्रेस भने प्रक्रियाबाट बाहिरिएको छ । स्रोतका अनुसार कांग्रेसले अध्यक्ष पदमा दाबी गरेको थियो । बैठकमा सहभागी एक परिषद् सदस्यका अनुसार कांग्रेसलाई उपाध्यक्ष र तीन सदस्य लिन प्रस्ताव गरिएको थियो, तर उक्त प्रस्तावमा असहमति जनाउँदै कांग्रेस प्रतिनिधिहरू बैठकबाट बाहिरिएका थिए ।

विशेषगरी कांग्रेसभित्रको शेरबहादुर देउवा पक्षले अध्यक्ष पद पाउनुपर्ने अडान राखेको थियो भने संस्थापन इतर पक्ष उपाध्यक्ष लिएरै भए पनि समितिमा बस्न तयार देखिएको थियो । तर, सहमति नजुटेपछि कांग्रेसले समितिमा आफ्ना सदस्य पठाएन ।

नयाँ कार्यसमितिका सदस्यहरूमा उमेश वस्ती, टिका कट्टेल, रमेश खड्का, नवराज चापागाईँ, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले र नेत्रप्रसाद ढकाल लगायत चयन भएका छन् ।

रास्वपाले सार्वजनिक मञ्चहरूमा दलीय भागवण्डा र शैक्षिक संस्थामा राजनीतिक नियुक्तिको विरोध गर्दै आए पनि सुकुना क्याम्पसमा भने पदकै लागि भागवण्डामा सामेल हुनुलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ ।