२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

घर निर्माणका लागि विराटनगर महानगरले सार्वजनिक गर्यो नयाँ मापदण्ड

Author Uttari Morang
शुक्रबार, आषाढ ०५, २०८३
घर निर्माणका लागि विराटनगर महानगरले सार्वजनिक गर्यो नयाँ मापदण्ड

घर तथा भवन निर्माणका क्रममा सडक, नाला र सार्वजनिक संरचनामा असर पर्न नदिन विराटनगर महानगरपालिकाले नयाँ व्यवस्था लागू गरेको छ ।
अब महानगरभित्र घरनक्सा पास गर्ने निर्माणकर्ताले सरसफाइ तथा पूर्वाधार संरक्षणसँग सम्बन्धित सात बुँदे मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, पेटी तथा नालामाथि राख्न पाइने छैन ।
निर्माण सामग्री ओसारपसारका क्रममा नाला जाम भए वा कुनै प्रकारको क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ र मर्मतको जिम्मेवारी वहन गर्नुपर्नेछ । त्यस्तै, निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट, माटो वा अन्य निर्माणजन्य पदार्थ मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ ।
निर्माण कार्यका क्रममा दुर्घटना वा मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउन पनि अनिवार्य गरिएको छ । महानगरले अन्तिम नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल वरपरका नालाको सफाइ, नाला ढक्कन मर्मत तथा निर्माणका कारण सडकमा भएको टुटफुटको व्यवस्थापन गरिएको हुनुपर्ने सर्त राखेको छ । यी काम पूरा नभएसम्म अन्तिम स्वीकृति नदिइने जनाइएको छ ।
अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको पाइएमा नियमानुसार जरिबाना गरिनेछ । निर्माणजन्य फोहोर सडक वा सडक किनारमा जथाभावी फाल्न तथा थुपार्नसमेत रोक लगाइएको छ ।महानगरका अनुसार घरधनी वा निर्माणकर्ताले सबै सर्त पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुपर्नेछ । मापदण्ड उल्लंघन भएको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ अनुसार कारबाही गरिनेछ ।