बालकक्षा शिक्षिकाहरुले केराबारी गाउँपालिकामा बुझाए ज्ञापनपत्र
Uttari Morang
मोरङको केराबारी गाउँपालिका क्षेत्र का सामुदायिक विद्यालयमा कार्यरत बालकक्षा शिक्षिका तथा विद्यालय कर्मचारीहरूले केराबारी गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन्।
अन्य शिक्षक तथा कर्मचारी सरह तलब वृद्धि गरिनुपर्ने र महगी भत्ता उपलब्ध गराउनुपर्ने लगायतका मागसहित बिहीबार नेपाल विद्यालय कर्मचारी परिषद् केराबारी र बाल विकास शिक्षिका आबद्ध संस्थाले केराबारी गाउँपालिका मा ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय शिक्षक महासङ्घ केराबारीका पदाधिकारीहरूसमेतको उपस्थितिमा ठूलो सङ्ख्यामा उपस्थित भएका बालकक्षा शिक्षिकाहरुले गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगर लाई ज्ञापनपत्र बुझाएका थिए।
आफूहरूलाई नेपाल सरकार र स्थानीय तहले बारम्बार उपेक्षा गरी आफूहरू विरुद्ध अन्याय गर्दै आएकोले न्यायका लागि केराबारी गाउँपालिकामा ज्ञापनपत्र बुझाएको बाल विकास शिक्षिका गीता तुम्खेवाले बताइन् । । त्यसैगरी नेपाल राष्ट्रिय शिक्षक महासङ्घ केराबारीका अध्यक्ष बसन्त कुमार श्रेष्ठले बाल शिक्षिका र विद्यालयका कर्मचारीहरू लाई नेपाल सरकारले उपेक्षा गरेकोले महासंघले उनीहरूको पक्षमा एक्यबद्धता जनाउँदै आएको बताए।
बाल शिक्षिका तथा विद्यालय कर्मचारीहरूको छुट्टाछुट्टै ज्ञापनपत्र बुझ्दै केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले केन्द्रीय सरकारले यसपटक ल्याएको बजेटमा खासगरी बालशिक्षिकाहरूका लागि सम्बोधन नगरे पनि गाउँपालिकाले आउन लागेको बजेटमा बाल शिक्षिकाहरू को माग बारे केही न केही सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।
केराबारी गाउँपालिका क्षेत्रमा अन्य विद्यालय कर्मचारी र ५७ जना वाल शिक्षिकाहरु कार्यरत छन् ।



