२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

बेलबारी नगरसभाको १९ औँ अधिवेशनको समापन,  विद्यार्थी र टोल विकास संस्थाहरु सम्मानित

Author Uttari Morang
मंगलबार, आषाढ ३०, २०८३
बेलबारी नगरसभाको १९ औँ अधिवेशनको समापन,  विद्यार्थी र टोल विकास संस्थाहरु सम्मानित

बेलबारी नगरपालिकाको नगरसभाको १९औँ अधिवेशन सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा  सोमबार आयोजित नगरसभाको तेस्रो बैठकबाट  आगामी आर्थिक वर्षका योजना तथा बजेट पारित गर्नुका साथै शिक्षा र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विद्यार्थी तथा टोल विकास संस्थाहरूलाई सम्मान एवं पुरस्कृत समेत गरेको छ ।

नगरसभाबाट बजेटमाथि छलफल तथा पारित गर्दै विभिन्न नीति, योजना  अनुमोदन गरिएको छ । नगरसभाले विकास निर्माण, सुशासन, शिक्षा तथा समुदायमा आधारित विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरेको छ ।

सो अबसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४ जीपिए नतिजा हासिल गरेका दुई जना विद्यार्थीलाई २५ हजार नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा ईष्ट्रन भ्यू इङ्ग्लिस स्कुल, बेलबारी-१० का विद्यार्थी निशान विष्ट र शिक्षा सन्देश इङ्ग्लिस स्कुल, बेलबारी-२ का निश्चल लामिछाने छन् ।

नगरसभाले आर्थिक वर्ष २०८२/०८३ को मूल्याङ्कनका आधारमा उत्कृष्ट टोल विकास संस्थाहरूलाई सम्मानसमेत गरेको छ । बेलबारी नगरपालिका टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७९ को दफा ९ अनुसार गरिएको मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका संस्थाहरूलाई सम्मानपत्र प्रदान गरिएको हो ।

मूल्याङ्कनमा बेलबारी-३ स्थित खानेपानी टोल विकास संस्था प्रथम घोषित भएको छ । संस्थालाई तीन लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रमसहित सम्मानपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै, बेलबारी-२ को सिंहदेवी टोल विकास संस्था उत्कृष्ट द्वितीय घोषित भएको छ । उक्त संस्थालाई एक लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रमसहित सम्मानपत्र प्रदान गरिएको छ ।

त्यसैगरी बेलबारी-७ को दौलतपुर कालिस्थान टोल विकास संस्था उत्कृष्ट तृतीय घोषित भएको छ । संस्थालाई पनि एक लाख रुपैयाँ बराबरको योजना तथा कार्यक्रमसहित सम्मानपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

सम्मानपत्रमा प्रमुख प्रशासकीय अधिकृत सञ्जयबहादुर राजलक्ष्मी, नगर उपप्रमुख नितु थापा कोइराला तथा नगर प्रमुख दिलप्रसाद राईको हस्ताक्षर रहेको छ ।