२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

गम्भीर आरोप लागेका सुकुना माविका दुइ शिक्षक र चालक निलम्बित, तीनजना पक्राउ

Author Uttari Morang
सोमबार, साउन ०४, २०८३
गम्भीर आरोप लागेका सुकुना माविका दुइ शिक्षक र चालक निलम्बित, तीनजना पक्राउ
छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि  सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक निलम्बित भएका छन्  ।
विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत तथा अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने तथा अमर्यादित व्यवहार गरेको बिषय सार्वजनिक भएपछि उनीहरु निलम्बनमा परेका हुन् ।निलम्बित हुने शिक्षक तथा कर्मचारीहरूमा  लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, सङ्गीत प्रशिक्षक भीमप्रसाद नेपाल र बस चालक प्रदीप भट्टराई छन् ।
विद्यालयले सोमबार बिहान एक बिज्ञप्ति प्रकाशित गरी विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकको निर्णय अनुसार आरोपित व्यक्तिहरूलाई दोषी करार नहुँदासम्म कानुनी प्रक्रियालाई सहज बनाउनका लागि आरोपित  शिक्षक तथा कर्मचारीहरूलाई तत्काल निलम्बन गरिएको जनाएको छ ।
  बिज्ञप्ति मा भनिएको छ –  शिक्षक र कर्मचारीका आचरण सम्बन्धमा आएका विषयहरू गम्भीर एवं खेदजनक भएको साथै प्रचलित कानुनले निषेध गरेका विषयहरू भएकाले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकको निर्णय अनुसार आरोपित व्यक्तिहरूलाई दोषी करार नहुँदासम्म कानुनी प्रक्रियालाई सहज बनाउनका लागि तपसिलका शिक्षक तथा कर्मचारीहरूलाई तत्काल निलम्बन गर्ने निर्णय गरेको छ। साथै सत्य तथ्य पत्ता लगाई निष्पक्ष रूपमा छानबिन गरी कानुनी कार्यवाही अगाडि बढाउन सम्वन्धित निकायमा पत्राचार गरि सकिएकाले यी विषय किनारा नलगाईन्जेल सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा संयमित रहनसमेत अनुरोध गरिन्छ।

घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाको चासो

घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालय व्यवस्थापनलाई पत्राचार गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।

नगरपालिकाले सार्वजनिक रूपमा आएका आरोप गम्भीर प्रकृतिका रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमा सहयोग गर्न र अनुसन्धानको प्रगतिबारे नगरपालिकालाई नियमित जानकारी गराउन विद्यालय व्यवस्थापनलाई निर्देशन दिएको छ।

शिक्षक र कर्मचारी पक्राउ 

छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि  सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका दुई शिक्षक र एक सवारी चालक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र ३५ वर्षीय शिक्षक अबिरल मास्केलाई पक्राउ गरेको हो।

मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत तथा अश्लील सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउने तथा अमर्यादित व्यवहार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनामा छात्रामाथि यौनजन्य दुर्व्यवहारसमेत भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ।

डीएसपी मिश्रले घटनाको वास्तविक प्रकृति र संलग्नताको अन्तिम निष्कर्ष अनुसन्धानपछि मात्रै खुल्ने बताए। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने उनले जानकारी दिए।

घटनापछि विद्यालयमा विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए। सम्भावित तनावलाई ध्यानमा राख्दै विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो। विद्यार्थी र अभिभावकले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। घटनाका सबै पक्षको अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा दोषी ठहर हुने जोसुकैमाथि कानुनअनुसार कारबाही गरिने प्रहरीले  जनाएको छ।