२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

डेढ दशक अबधिमा हात्तीको आक्रमणबाट एउटै जिल्लामा ८० जनाले गुमाए ज्यान

Author Uttari Morang
शनिबार, साउन २३, २०८३
डेढ दशक अबधिमा हात्तीको आक्रमणबाट एउटै जिल्लामा ८० जनाले गुमाए ज्यान

झापामा पछिल्लो १६ वर्षमा हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।

डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन् । कार्यालयको तथ्याङ्क अनुसार २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ७० नेपाली र १० जना गैरनेपालीको मृत्यु भएको छ । यो तथ्याङ्कले झापामा औसतमा हरेक वर्ष पाँच जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाउने गरेका देखाउँछ ।

कार्यालयका अनुसार २०८० सालमा सबैभन्दा बढी मानवीय क्षति भएको थियो । उक्त वर्ष हात्तीको आक्रमणबाट तीन महिलासहित आठ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । २०८२/८३ मा भने छ जनाले ज्यान गुमाएका छन् । मृतकका परिवारलाई जनही १० लाखका दरले राहत उपलब्ध गराइएको छ । कार्यालयको तथ्याङ्क अनुसार २०६७ मा दुई, २०६८ र २०६९ मा सात/सात, २०७० मा तीन, २०७१ मा दुई र २०७२ मा चार जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका थिए ।

यस्तै २०७३, २०७४, २०७७, २०७८ र २०७९ मा पाँच/पाँच, २०७५ र २०७६ मा एक/एक, २०८० मा आठ, २०८१ मा चार, २०८२ र २०८३ को हालसम्म छ जनाको मृत्यु भइसकेको तथ्याङ्क छ । कार्यालयका अनुसार २०६२ सालदेखि हालसम्म २८ वटा जङ्गली हात्ती मारिएका छन् । सबैभन्दा बढी २०८२ सालमा मात्रै छ वटा हात्ती मारिएका थिए । वन क्षेत्रको अतिक्रमण, मानव बस्तीको विस्तार, कृषिबालीतर्फ हात्ती आकर्षित हुनु तथा परम्परागत हात्ती मार्ग अवरुद्ध हुँदै जाँदा मानव-हात्ती द्वन्द्व बढेको कार्यालयले जनाएको छ ।