दुई तीन महिनाभित्रै कालोपत्रे भइसक्ने भो लेटाङ- राजारानी सडक
Uttari Morang
मोरङको लेटाङ बजारबाट राजारानीसम्म पुग्ने सडक आगामी असोज मसान्तसम्म कालोपत्रे हुने भएको छ ।
मदन भण्डारी राजमार्गसँग जोडिने उक्त सडकअन्तर्गत लेटाङ–२ स्थित किराँत चोकदेखि लोखरासम्मको करिब दुई किलोमिटर सडक कालोपत्रे भइसके पनि बाँकी चुरेक्षेत्रमा काम भइरहेको छ ।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत २०७९ वैशाख १९ गते सडक डिभिजन कार्यालय विराटनगरले उक्त सडक निर्माणका लागि ठेक्का लगाएको थियो । ५.७ किलोमिटर सडक निर्माणका लागि कालिका÷मेदान्सी जेभी काठमाडौंसँग ११ करोड ३२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।
सम्झौताअनुसार २०८१ चैत ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले निर्धारित समयमा काम पूरा गर्न सकेन । अहिले भने निर्माणले गति लिएको सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर नारायणप्रसाद निहुरेले बताउनुभयो ।
उहाँका अनुसार आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशत पुगेको छ भने वित्तीय प्रगति साढे ३० प्रतिशत रहेको छ । “हाल तीव्र गतिमा काम भइरहेको छ । असोज मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” निहुरेले भन्नुभयो ।
सडकको कालोपत्रे चौडाइ सात मिटर तथा दुवैतर्फ सोल्डरसहित कुल चौडाइ १० मिटर हुनेछ । सडकमा रिटेनिङ वाल, ब्रेस्ट वाल, नाली, सबबेस, बेस तथा अस्फाल्ट निर्माणका साथै डेलिनेटर पोस्ट, क्र्यास ब्यारियर र थर्मोप्लास्टिक रोड मार्किङलगायतका सडक सुरक्षा संरचना निर्माण गरिनेछ ।
लामो समय रोकिएको सडक निर्माणले गति लिएपछि लेटाङ नगरपालिकाले पनि पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेको छ । नगरप्रमुख भूपेन्द्रकुमार लावतीले सडक निर्माणमा भएको ढिलाइका कारण नगरपालिकाले समेत अपजस खेप्नुपरेको बताउँदै अहिले काम अघि बढेकामा आशा जागेको बताउनुभयो ।
नगरपालिकाले राजारानी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिरहेको छ । राजारानी पोखरी, राजकुमारी पोखरी, सुनाखरी अध्ययन केन्द्र तथा अन्तरधार्मिक शान्तिपार्कलगायतका संरचना निर्माण भइसकेका छन् ।
नगरप्रमुख लावतीका अनुसार राजारानी क्षेत्रमा दैनिक करिब चार सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । तर, सडकको अवस्था कमजोर हुँदा पर्यटकलाई सहज आवागमन हुन नसकेको र त्यसको अपजस नगरपालिकाले लिनुपरेको उहाँको भनाइ छ ।
सडक निर्माण सम्पन्न भएपछि राजारानी क्षेत्रको पहुँच सहज हुने र पर्यटकको संख्या थप बढ्ने नगरपालिकाको अपेक्षा छ । लामो समयदेखि प्रतीक्षामा रहेको सडकले पूर्णता पाएमा राजारानीसहित चुरे क्षेत्रका पर्यटकीय सम्भावनालाई समेत थप टेवा पुग्ने देखिएको छ ।



