जाँते स्वास्थ्य चौकीबारे सांसद न्यौपानेले भ्रम फैलाएको भन्दै लेटाङ नगरपालिकाको आपत्ति
Uttari Morang
लेटाङ नगरपालिका–८ जाँतेस्थित स्वास्थ्य चौकीको ल्याब सेवा बन्द भएको विषय संघीय संसदमा उठेपछि लेटाङ नगरपालिकाले आपत्ति जनाएको छ। मोरङ क्षेत्र नं. १ का सांसद यज्ञमणि न्यौपानेले संसद बैठकमा जाँते स्वास्थ्य चौकीको ल्याब सेवा सहित्ब्स्वास्थ्य चौकी नै बन्द गरिएको विषय उठाएपछि नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै वास्तविक निर्णय र अवस्था नबुझी संवेदनशील विषय संसदमा उठाइएको आशय व्यक्त गरेको हो। नगरपालिकाका अनुसार ल्याब सेवा बन्द गर्ने सम्बन्धमा कार्यपालिकाले कुनै निर्णय नै गरेको छैन।
नगरपालिकाले २०८३ असार १९ गते बसेको कार्यपालिका बैठकमा जाँते स्वास्थ्य चौकीको ल्याब सेवाका विषयमा वडा नं. ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रस्तावमा सामान्य छलफल भएको स्वीकार गरेको छ। तर, ल्याब सेवा बन्द गर्ने वा नगर्नेबारे बैठकले कुनै निर्णय नगरेको नगरपालिकाको स्पष्टोक्ति छ। उक्त बैठकको प्रमाणित निर्णयसमेत नगरपालिकाको आधिकारिक वेबसाइटमा सार्वजनिक भइसकेको भन्दै नगरपालिकाले तथ्य नबुझी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा कार्यपालिकाका विभिन्न बैठकमा वडा नं. ८ का वडाध्यक्ष पोखरेलले स्वास्थ्य चौकीमा सेवाग्राहीको न्यून उपस्थिति तथा स्वास्थ्य बीमा र सुविधासम्पन्न सेवाका लागि नगर अस्पताल वा निजी क्लिनिक जाने प्रवृत्तिका कारण ल्याब सञ्चालनमा समस्या रहेको विषय उठाउँदै आएको उल्लेख छ। तर, त्यस विषयमा कार्यपालिकाले कुनै निष्कर्षमा पुगिनसकेको नगरपालिकाको भनाइ छ। अहिले स्वास्थ्य चौकी प्रमुखसँग अभिलेख माग गरी वास्तविक अवस्था अध्ययन भइरहेको जनाइएको छ।
नगरपालिकाले सांसद न्यौपानेले संसदमा विषय उठाउनुअघि नगरपालिकासँग वास्तविक अवस्था र कार्यपालिकाको निर्णयबारे जानकारी लिएको भए तथ्य स्पष्ट हुने संकेत गरेको छ। नागरिकको जनस्वास्थ्यसँग जोडिएको विषयलाई तथ्य र प्रमाणका आधारमा उठाउनुपर्नेमा निर्णय नै नभएको विषयलाई ल्याब बन्द भएको रूपमा प्रस्तुत गर्दा जनतामा भ्रम सिर्जना हुनसक्ने नगरपालिकाको भनाइ छ। यस प्रकरणमा वडा अध्यक्षको प्रस्तावलाई नगरपालिकाको अन्तिम निर्णयका रूपमा बुझ्नु पनि गलत हुने देखिन्छ।
नगरपालिकाले ल्याब सेवाको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरिसकेको जनाएको छ। समितिले सेवाग्राहीको अवस्था, ल्याब सञ्चालनमा देखिएका समस्या तथा सेवा प्रभावकारी बनाउने उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने र सोही आधारमा आवश्यक निर्णय गरिने नगरपालिकाले स्पष्ट पारेको छ। नगरपालिकाले जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा सम्बन्धित सबै पक्षलाई तथ्य बुझेर मात्र धारणा सार्वजनिक गर्न आग्रह गरेको छ।



