२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
प्रमुख

तेस्रो मुलुक पुनर्बासपछि शिविरमा रहेका शरणार्थीहरुको हरिबिजोग

Author Uttari Morang
शुक्रबार, फाल्गुण ११, २०७४
तेस्रो मुलुक पुनर्बासपछि शिविरमा रहेका शरणार्थीहरुको हरिबिजोग

तिन दशकदेख राष्ट्रियता गुमाउनुको पीडा, त्यसमाथि वर्षौंदेखि आश्रय लिएर बसेको थातथलोबाट पनि परिवारका सदस्यलाई छानीछानी तितरवितर र छिन्नभिन्न पारिएको अर्थात् सात समुद्रवारि र पारि बनाइएको अवस्था । गरिखान सक्नेहरू त जसोतसो जिएकै छन् तर बेहाल छ, बूढाबूढी र केटाकेटीको ।


हो, अधिकांश तेस्रो मुलुक गएर जनसंख्या घटेपछि झापा र मोरङको शिविरमा रहेका भुटानी शरणार्थी समस्यै समस्याले पिरोलिन थालेका छन् । पथरीस्थित शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिङ राईका अनुसार जनसंख्या घटेसँँँगै विश्व खाद्य कार्यक्रमले हरेक व्यक्ति र परिवारलाई दिँदै आएको सुविधामा पनि कटौती गरेको छ । पहिले विश्व खाद्यले दिनको दुई केजी चामलसहित दाल, चिनी, नुन तेल, पौष्टिक आहारलगायत सबै खाद्यान्न दिन्थ्यो । तरकारी र खाना पकाउन इन्धन पनि दिने गरिएको थियो तर यसमा करौंती चलाइएको छ ।
पहिले दुई जिल्लाका ७ वटा शिविरमा गरी करिब एक लाख १५ हजार शरणार्थी थिए । अमेरिकालगायत विभिन्न मुलुक गएर शिविर खाली हुन थालेपछि केही वर्षयता दमकको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा मात्र राखिएको छ । हाल त्यहाँ करिब ७ हजार र कागजात नमिलेर छुट भई परिचयपत्र नपाएकासमेत गरी करिब ९ हजार शरणार्थी मात्रै बाँकी छन् । तीमध्ये करिब ३ देखि ४ हजारजति तेस्रो मुलुकमा पुनर्वास जान इच्छुक छन् तर कतिपय तेस्रो मुलुकले पृष्ठभूमिका आधारमा लैजान अस्वीकार गरेका कारण पनि पीडित बनेका छन् । खासगरी बुढेसकालमा पुगेका शरणार्थी स्वदेश फर्केर मर्ने धोको पूरा गर्नका लागि देउता पुकारी बसिरहेका छन् ।
केपी ओलीसहित ३ जना प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र मन्त्री हिक्मत कार्कीलगायतलाई समेत भेटिसकेका छन् तर स्वदेश फिर्तीलगायतका मागमा नेपाल सरकार गम्भीर नभएको गुनासो गर्छन् । हजारौं भारतीयले प्रवेश गर्नासाथ नेपालको नागरिकता लिएको तर तीन दशकसम्म बस्दा पनि भुटानीलाई बेवारिसे बनाइएको उनीहरूको दुखेसो छ ।
परिवारका अरू सदस्यलाई पुनर्वासका लागि तेस्रो मुलुकमा लगिएपछि सबैभन्दा बढी बृद्धावृद्धा, एकल महिला र बालबालिकाको बिजोग भएको छ । धेरैजसो डिप्रेसनको शिकार भएको र कतिपयले आत्महत्या गरेको राई बताउँछन् । जनसंख्या घटेपछि शिविरस्थित विद्यालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
– अम्बिका भण्डारी