२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो

Author Uttari Morang
बिहिबार, माघ १७, २०७५
धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो
मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो ।

परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा लिइएको छ । सडक संरचना निर्माण, पुलनिर्माण, कजवे, ह्युमपाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

राजमार्गको पूर्वी खण्डको बसाहादेखि सबबेसको काम प्राय सकिएको छ । बेसहाल्ने काम धमाधम भइरहेको आयोजना प्रमुख खनालले जानकारी दिए । ‘चुहाडेदेखि कटारी र कटारीदेखि भिमानसम्म सडकको ग्रेड मिलान गरी सबबेस हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘बसाहादेखि चुहाडे खण्डमा यसै वर्ष कालोपत्रे गरी सक्ने गरी तयारी हुँदै छ ।’ यस वर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य उनले बताए ।

जेडआइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले ०७३ कात्तिकदेखि पूर्वी खण्डको १३४ किलोमिटर सडक निर्माण गरिरहेको छ । निर्धारित समयमै काम सम्पन्न गर्न आफूहरू लागि रहेको निर्माण कम्पनीका इन्जिनियर सीताराम दाहालले जानकारी दिए ।

०७२ सालमा ५ महिना लामो मधेस आन्दोलनका वेला राजधानीलाई पूर्वसँग जोड्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीबजार–हेटौँडा ३१८ किलोमिटर सडकखण्ड चर्चामा आएको थियो । त्यसयता, सरकारले आर्थिक वर्ष ०७३÷७४ मा ३ अर्ब २ करोड बजेट विनियोजन गर्दै ३ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ यस आयोजनाको काम अघि बढाएको थियो ।

राजमार्गलाई पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर निर्माणको ठेक्का लगाइएको छ । जसअन्तर्गत सुनसरीको धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुलसहित १३४ किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ । सवारीसाधनका लागि ७ मिटर र दायाँबायाँ २/२ मिटर गरी ११ मिटर कालोपत्रे हुने यो सडक ०७६ सम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको छ ।

धनकुटे रोडवासीले बुझाए ज्ञापनपत्र
मदन भण्डारी राजमार्ग विस्तार हुँदा आफ्ना सबै जमिन कटौती हुने भन्दै धरान उपमहानगरपालिकास्थित धनकुटे रोडबासीहरूले अर्को रुट भएर सडक लैजान माग गरेका छन् । स्थानीयले मंगलबार उपमहानगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका हुन् ।

राजमार्गअन्तर्गतका सडकको मापदण्ड १४० फिट कायम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । हाल धनकुटे रोड ३० फिटको छ । १४० फिट गर्दा सडक दायाँबायाँ बसोवास गर्ने हजाराैं जनता घरबारविहीन भएर सुकुम्बासी हुने धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समितिका संयोजक निनामचन्द्र राईले जानकारी दिए ।

सडक डिभिजन कार्यालय विराटनगरले ०७४ सालमा गरेको स्थलगत अध्ययनले धरान तीनकुने गेट, मलाया रोड, श्रीजंगा रोड, रेडियो नेपाल, बिपी प्रतिष्ठान तल्लो गेट, सर्दु ५ नं. पुल हुँदै चतरा जाने बाटो कायम गर्दा स्थानीयकोे धनजनको क्षति कम हुने ठहर गरेको थियो । प्रभावित क्षेत्रका स्थानीयले यस प्रतिवेदनलाई आधार मानेर राजमार्ग निर्माण हुनुपर्ने माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै कार्यबाहक नगरप्रमुख मञ्जु भण्डारीले जनताको भावनाअनुरूप नै सडक निर्माण हुने जानकारी दिएकी छिन् ,नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उता पिच हुन थालेपनि मदन भण्डारी राजमार्ग बन्ने मोरङको केराबारी, लेटाङ लगायतका स्थानमा भने राजमार्ग बन्ने स्थानबारे अन्योल र विवाद कायमै छ ।