२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ

Author Uttari Morang
मंगलबार, बैशाख १०, २०७६
बल्ल साम्य भो पथरीमा जारी आन्दोलन, रिनालाइ बारम्बार फोन गर्ने पनि पक्राउ

मोरङको पथरीकी रिना बस्नेतको हत्याको बारे ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने सहमतिमा पथरीमा दुई तीन दिनदेखि चलिरहेको आन्दोलन रोकिएको  छ ।

घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल पनि पक्राउ परिसकेका छन । मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिच भएको छलफल र सहमति भएपछि तत्कालका लागि आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको उपमेयर यमुना बिष्ट बाँस्तोलाले जानकारी दिईन् ।

प्रहरी र स्थानीय बासिन्दा बिच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन्  । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल,जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मध्यान्ह हवाई फायर र दिउँसो २ बजे अश्रुग्याँस प्रहार गरेको थियो ।
नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यालय अघि पनि रिना बस्नेतको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा प्रहरीले हवाई फायर गरेको थियो । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय सोमबारदेखि थप आन्दोलित भएका थिए ।

हवाईफायरपछि स्थानीयले सडकमा टायर बालेर प्रहरीबिरुद्ध नाराबाजी समेत गरेका थिए । स्थानीयले नगरपालिका कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका थिए । बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेका स्थानीयमाथि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका समेत तोडफोड गरेका छन् ।

दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए ।
भिड नियन्त्रण बाहिर गएपछि संर्घष समितिकी संयोजक पराजुली पथरीशनिश्चरेकी उपमेयर यमुना बिष्ट बाँस्तोला र प्रशासनका बिच बार्ता भएको थियो  । बार्तामा घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही लगायतका बिषयमा सहमति भएको छ ।

शनिबार  बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नग्न अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ६ वटा घटना भईसकेका छन ।