२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे

Author Uttari Morang
शुक्रबार, आश्विन २४, २०७६
निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे

ताप्लेजुङको फुङलिङ बजारमा रहेको  तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माण भएको एक महिना पनि नपुग्दै भत्किएको छ ।

ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै सहरी तथा भवन निर्माण आयोजना झापा भुक्तानी दिइसकेको छ । भत्किएको देख्दा देख्दै सघन सहरी तथा भवन निर्माण आयोजना पास गरेको स्थानीयको गुनासो छ ।

मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो । ‘असारे झरीमा रातदिन नभनी कालोपत्रे गरे । उतिबेलै भत्कन थालेको हो,’ सडक छेउमा घर भएका मदन गौतमले भने । २ वटा सोलार बत्ति समेत बल्न छाडेको उनले बताए ।

निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको सडक रहेको वडा फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए । ‘पिच धेरै कमसल छ । २० सेन्टिमिटर गिटीको वेश नै छैन, त्यसैले भत्किएको हो,’ चेम्जोङले भने ।

निर्माण व्यावसायीले स्थानीय तहसँग समन्वय नै नगरी काम गरेको चेम्जोङको गुनासो छ । ‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहामाथि गाडी कुदेपछि भत्कन थाल्छ,’ स्थानीय विवेक राई भन्छन् ।

१५ महिनामा सक्नेगरी २०७४ असारमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलाम ठेक्का लगाएको थियो । कार्यालयहरुको पुर्नसंरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो । सम्झौतामा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केही स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ति जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।

ठेकेदारले काम गुणस्तरहिन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंह पनि बताउँछन् । उनले भने, ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ । भदौ १३ गते निर्माण व्यावसायीलाई यथार्थ जानकारी दिन पत्र काटिसकेका छौँ ।’ – रेडियो ताप्लेजुङको सहयोगमा