२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन

Author Uttari Morang
बिहिबार, माघ ०८, २०७७
कोरोना महामारीपछि नोबेलमा बल्ल सुचारु भो बिना चिरफार पित्त नलीको अप्रेसन

नोबेल शिक्षण अस्पतालमा कोरोना महामारीका कारण स्थगित भएको इआरसीपी उपचार पद्धति पुनः सुरु भएको छ । नौ महिनापछि पुनः इआरसीपी उपचार पद्धतिमार्फत मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुंगा निकाल्न थालिएको हो ।

कोरोना महामारीका कारण गत चैत महिनाबाट इआरसीपी सेवा रोकिएको थियो । तर, अब लकडाउन खुलेर जनजीवन सामान्य बन्दै गएकाले पुनः इआरसीपी विधिबाट पित्त नलीको पथरिया निकाल्न थालिएको नोबेल अस्पतालका डा.रोहित प्रसाद यादवले जानकारी दिए । यो प्रविधिबाट नेपालमा विरलै मात्र उपचार हुने गरेको पाईन्छ । इआरसीपी विधि सुरु नहुँदा पित्त नलीको ढुंगा निकाल्न चिरफार वा ल्याप्रोस्कोपिक विधि प्रयोग गरिन्थ्यो । अप्रेशन गर्दा पेट र पित्त नली दुबै चिर्नुपर्छ । ल्याप्रोस्कोपिक विधिमा पनि पेटमा प्वाल पारेर पित्त नली चिरेर मात्र ढुंगा निकाल्न सकिन्छ । पित्त नली चिरेर ढुंगा निकाल्दा निको हुन बढी समय लाग्ने, चिरेको ठाउँमा सिलाउन गाह्रो हुने र संक्रमणको खतरा हुने चिकित्सकहरु बताउँछन् ।

तर, इआरसीपी विधिमार्फत मुखबाट ईण्डोस्कोप छिराई ढुंगालाई तानेर मुखबाटै वा दिसाको माध्यमबाट बाहिर निकालिने हुँनाले बिरामीलाई खासै असर नपर्ने चिकित्सकहरुको भनाई छ । यसबाट घाउ नहुँनाले बिरामी दुई दिनमै घर फर्कन सक्ने डा.यादव बताउँछन् । पित्त नलीमा क्यान्सर वा ढुंगा बसेर जण्डिस भएका बिरामीको उपचार र आन्द्राको क्यान्सर तथा पैंक्रियाजको क्यान्सर पत्ता लगाउँन पनि यो विधि प्रभावकारी हुँने गर्छ ।

नेपालका केही अस्पतालहरुमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले २०७५ पुसबाट सुरुवात गरेको हो । नोबेलले इआरसीपी विधिबाट सयौं विरामीको सफलतापूर्वक पथरिया निकालेको छ । नोबेलले २०७५ फागुन २६ गते इआरसीपी विधिबाट एकैदिन हालसम्मकै धेरै १४ जनाको पित्तनलीको ढुंगा निकालेर नेपालमै पहिलो रेकर्ड बनाएको थियो ।