२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुकुना क्याम्पसमा तथ्याङ्क व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न

Author Uttari Morang
शनिबार, जेठ १२, २०८१
सुकुना क्याम्पसमा  तथ्याङ्क व्यवस्थापन सम्बन्धी तीनदिने तालिम सम्पन्न

विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा गुणात्मक तथ्याङ्क व्यवस्थापन  तालिम तथा कार्यशाला सम्पन्न भएको छ ।
जेठ १० गते देखि १२ गतेसम्म भएको तालिममा विभिन्न ६ वटा क्याम्पसका ९ जना शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४७ जना गरी जम्मा ५६ जना शिक्षकहरू सहभागी थिए । विहीबार विहान उद्घटन भई शनिबारसम्म चलेको तालिममा गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कलन, व्यवस्थापन, व्याख्या र विश्लेषण गर्ने क्षमताको विकास आदिबारे प्रशिक्षण दिईएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले जानकारी दिए ।
काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन, हात्तीवन, ललितपुरका सहप्राध्यापक डा. सुरेश गौतम र सुकुना क्याम्पसका सहप्राध्यापक डा. मोहनकुमार तुम्वाहाङले विषयविज्ञका रुपमा तीन दिने तालिमको सहजीकरण गरेका थिए । कार्यक्रममा परिमाणात्मक अनुसन्धान र गुणात्मक अनुसन्धान बिचको फरक र गुणात्मक अनुसन्धानको महत्त्वका सैद्धान्तिक विषयमा छलफल भएको थियो ।
तालिममा गुणात्मक अनुसन्धानमा तथ्याङ्क सङ्कन गर्ने विधि तथा तरिका, नैतिक पक्षहरू, तथ्याङ्कको व्यवस्थापन, तथ्याङ्कको छलफल एवम् व्याख्या र विश्लेषण गर्ने तरिकाका विषयमा दुई दिनसम्म विभिन्न आठ समूहमा कार्यशाला सञ्चालन गरी समूहहरूबाट प्रस्तुतीकरण गरिएको क्याम्पसले जनाएको छ । समापन कार्यक्रममा सहभागीहरूले तालिम/कार्यशालामा सिकिएका विषयमा प्रतिविम्बन गरेका थिए । शनिबार नै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
उद्घाटन तथा समापन कार्यक्रमको सञ्चालन आयोजक समितिकी संयोजक उषाकिरण वाग्लेले गरेकी थिएन् । कार्यक्रमको सिङ्गो व्यवस्थापन क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइ (RMC-Sukuna) ले गरेको थियो । तालिमबाट गुणात्मक अनुसन्धान गर्न सक्ने तागत मिलेको सहभागीहरुले बताएका छन्।